रत्ननगर, २१ जेठ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा काँग्रेस नेताहरूको आश्रय स्थल थियो रत्ननगर टाँडीको डुम्री चोकस्थित नेपाल निवास । पञ्चायत विरुद्धको आन्दोलनका लागि नेताहरूले त्यहीँ भेला भएर रणनीति बुन्ने गर्थे ।
काँग्रेसको आन्दोलनको लागि स्वर्गीय कृष्ण बहादुर नेपालसँगै उनकी श्रीमती टीकाकुमारी नेपाल पनि उत्तिकै लागिपरेकी थिईन । नेताहरूलाई खाना खुवाउनेदेखि आन्दोलनको मोर्चामा श्रीमान्लाई भरोषा दिलाउने कामसम्म उनले गरिन् । उनीहरुले घरको ढोकामा ‘जय नेपाल’ लेखेका थिए । यो लेखेकै कारण पटक पटक उनीहरूले दु:ख पनि भोगे । आफ्नो थर नेपाल भएकाले आफ्नै जय होस् भनेको भनी स्पष्टीकरण दिँदा उनीहरू पटकपटक जोगिएका थिए ।
नेपाली काँग्रेस चितवनका पूर्वसभापति शेषनाथ अधिकारीले नेपाल परिवारले पार्टीको आन्दोलनमा निस्वार्थ सेवा गरेको बताउँछन् । “हामीले कयौँ पटक जोगिन यो घरमा आश्रय लिएका छौं । पार्टीका गतिविधि यहीँ सञ्चालन गरिन्थे,” उनले भने, “जसले कहिल्यै अवसर खोजेनन् । पार्टीका यस्ता कार्यकर्ता विरलै पाइन्छन् ।”
टीका नेपालको निधनमा समवेदना व्यक्त गर्न गएका अन्य नेताहरू पनि नेपालको योगदानको चर्चा गर्छन्। निरन्तर पार्टीको हितमा काम गरेका नेपाल परिवारको चर्चा भने कम छ । नेपाली काँग्रेस रत्ननगरका सभापति प्रह्लाद सापकोटाले स्वर्गीय नेपालले पार्टीमा रहँदा हरेक पटक अग्रपंक्तिमा रहेर काम गर्ने गरेको उनले सुनाए । “आफु बिरामी हुँदा पनि निर्वाचनमा पार्टीलाई जिताउन परिवारलाई खटाउनुभएको थियो,” उनले थप्दै भने, “उहाँको निधनले पार्टीलाई ठूलो क्षति पुगेको छ ।”
काँग्रेसले नेपालको निवासमा शनिबार शोकसभा गरेको थियो । शोक सभामा महासमिति सदस्य गीता देवकोटाले नेपाल परिवार पार्टीको ऊर्जा भएको बताइन् । टीका नेपाल समाजिक अभियानमा समेत सक्रिय थिइन् । पिछडिएका बस्तीमा नेपालले निरन्तर अभियान चलाएको काँग्रेस नगर सचिव अनिता अर्यालले सम्झिइन् ।
टीका नेपाल पार्टीको १४औँ अधिवेशनबाट नगर समिति सदस्यमा निर्वाचित भएकी थिइन् । उनका दुई छोरा तथा एक छोरी छन् । उनका छोरा दीपक नेपालले आफूहरू राजनीतिक संस्कारमा हुर्किएको हुनाले निरन्तर पार्टीको हितमा समर्पित हुने उल्लेख गरे ।