काठमाडौं : आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। सोमबार राति नेपाल शिक्षक महासंघ र शिक्षामन्त्रीसहितका अधिकारीहरुबीच बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन। आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् । बैठकपश्चात शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले केही काम बाँकी रहेकाले मंगलबार टुंग्याउने गरी अघि बढ्ने बताए। ‘हाम्रो वार्ता सकारात्मक रूपमा अघि बढेको छ। केहि काम बाँकी छ। यसलाई सकेसम्म एकदमै छिटो टुंग्याउने तयारीमा छौं। सरकार गम्भीर रुपमा अगाडि बढेको छ।’, मन्त्री पन्तले भने,‘१२ कक्षाको परीक्षा पनि तोकिएकै मितिबाट सञ्चालन हुन्छ।’यता महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी पनि सरकारसँगको वार्ता सकारात्मक भएको उल्लेख गरे। उनले केही विषयमा छलफल आवश्यक रहेकाले संवादबाटै टुंगो लगाउने बताए। शिक्षा मन्त्रालयका अधिकारीका अनुसार सहमतिको ड्राफ्ट तयार भएको छ। त्यसलाई आन्तरिक छलफल गरेपश्चात टुंगोमा पुर्याइनेछ। शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ। मंगलबार सहमति भए बुधबारबाट आन्दोलनको मोडालिटी फेरिने महासंघको भनाई छ। आज पुन: वार्ता हुनेछ।
आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी
आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

Advertisement