काठमाडौं । जेनजी प्रतिनिधिहरूले आगामी सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि सारिएको प्रस्तावलाइ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेनं) ले समर्थन जनाएका छन् । अन्तरिम सरकारको नेतृत्वमा अघि बढाउन जेनजीले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन् ।
धेरै युवाले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम समेत प्रस्ताव गरेका थिए । तर, उनी सम्पर्कमा नआएको कतिपयको गुनासो छ । मंगलबार बेलुकी उनले स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका गर्न तयार रहन भनेका थिए ।
बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंगीअड्डा पुगेका थिए । तर, १५ जनाभन्दा बढी छलफलका लागि पुगेपछि सेना प्रमुख अशोकराज सिग्देलले पहिले आपसमा सहमति गरेर आउन भनेका थिए । उनले संयोजक समेत तोकेर आउन आग्रह गरेका थिए । त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक भएको थियो । त्यसक्रममा कतिपयले गणान्त्रिक व्यवस्थाविरुद्ध समेत प्रस्ताव राखेका थिए । त्यही कारण रक्षा बमसहितको समूह बाहिरिएको थियो । यद्यपि, अन्तिममा कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने सहमति भएको थियो ।