चितवन, २४ जेठ ।
भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसलले बहुमत प्राप्त गरेको छ । महानगरपालिकामा काँग्रेसको एकल बहुमत भएको हो ।
महानगरपालिकाको ३९ सदस्यीय कार्यपालिका सदस्यमा २३ जना काँग्रेसका सदस्य निर्वाचित भएका छन् । काँग्रेसबाट १६ जना वडा अध्यक्ष छन् । स्वतन्त्रबाट निर्वाचित भएका एक जना वडा अध्यक्ष पनि काँग्रेस प्रवेश गरेका छन् ।
उपप्रमुख र नगर कार्यपालिका सदस्यमा निर्वाचत पाँच जना सहित कार्यपालिकामा बहुमत पुगेको हो । त्यस्तै निर्वाचित महानगर सभामा १५० सदस्यमा उपप्रमुख सहित ७८ जना काँग्रेसका छन् ।
“गठबन्धनबाट चुनाव लड्दा स्पष्ट बहुमत आएको छ । अब काँग्रेसको टोली महानगरको विकासमा लाग्नेछ,” नेपाली काँग्रेस चितवनका सचिव ध्रुव पोखरेलले भने, “यसले पार्टीको सांगठनिक विकासमा पनि मद्दत गर्नेछ ।”
मंगलवार भएको नगर कार्यपालिकाको निर्वाचनमा सत्ता साझेदार पाँच दलीय गठबन्धनकातर्फबाट विजयी भएकामध्ये पाँच जना काँग्रेसका हुन् । भरतपुरमा गठबन्धनका सबै उम्मेद्वारहरू निर्वाचित भएका हुन् । भरतपुर महानगरपालिकाको नगरकार्यपालिका सदस्यमा खुल्लाबाट नेपाली काँग्रेसका गोपाल दराई, नेकपा (माओवादी केन्द्र)का विष्णु बहादुर भुजेल र नेकपा (एकीकृत समाजवादी)की कोपिला उपरकोटी विजयी भएका छन् ।
यस्तै, महिलातर्फ कार्यपालिका सदस्यमा नेपाली काँग्रेसका नर्वदा सापकोटा, शारदा पोखरेल, सिर्जना अधिकारी र सुकमाया विक निर्वाचित भएका छन् । ती बाहेक नेकपा (माओवादी केन्द्र)की बिना नेपाली पनि निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, भरतपुरका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिए ।
एमाले र राप्रपाको गठबन्धनबाट खुला सदस्यमा एक जना तथा महिलातर्फ पाँच जनाको उम्मेदवारी परेको थियो ।