भरतपुर, १० असार ।
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महानगर उपप्रमुख शिल्पा निराला कार्कीले शुक्रबार महानगरको १०औं सभामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेकी हुन । प्रस्तुत बजेट चालू आर्थिक वर्षको भन्दा १ अर्बले कम हो ।
प्रस्तुत बजेटमध्ये पूर्वाधार विकासका क्षेत्रमा १ अर्ब ८९ करोड ७१ लाख १७ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ५५ करोड ३५ लाख ५० हजार, आर्थिक विकास क्षेत्रमा २७ करोड ७३ लाख, सामाजिक विकासमा ७८ करोड ३९ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७ करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापनका लागि ३ करोड ६० लाख खर्च हुने अनुमान गरिएको छ ।
अनुमानित बजेटको स्रोत व्यवस्थापनका लागि महानगरले संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २१ करोड ८५ लाख, प्रदेश सरकारबाट ४ करोड ९१ लाख ९७ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय १ अर्ब, जनसहभागिताबाट ८ करोड, अनुदान तथा ऋणबाट १० करोड १९ लाख र संघसस्थावाट ३ करोड ६० लाख अनुमान गरेको छ ।