चितवन ।
वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । वीरगन्ज महानगरपालिकाको नगरसभाको ११औं अधिवेशनमा उपमेयर इम्तियाज आलमले बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटमा चालूतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ एक अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाको कूल बजेटमध्ये अधिकांश बजेट संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान नै हो ।
चालू आर्थिक वर्षको बजेटको तुलनामा महानगरले २२ करोड रुपैयाँ कम रकम विनियोजन गरेको हो । उसले चालू आर्थिक वर्षका लागि ३ अर्ब ५५ करोडको बजेट ल्याएको थियो ।
महानगरपालिकाको अगामी आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतहरूमध्ये आन्तरिक आय तथा राजस्वबाट ९५ करोड, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान र सशर्त अनुदान समेतबाट १ अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट ७ करोड ९८ लाख २४ हजार, क्षेत्रीय शहरी विकास आयोजनाका लागि दातृ संस्था एसियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार, सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, युनिसेफबाट २५ लाख रुपैयाँ जुटाउने प्रस्ताव गरिएको छ ।
उल्लेखित स्रोत परिचालन गर्दा नपुग हुन आउने ४४ करोड १९ लाख ५९ हजार चालू आवको अन्त्यमा स्थानीय सञ्चित कोषमा रहेको नगद मौज्दातबाट बेहोरिने व्यवस्था मिलाइएको छ । मेयर राजेशमान सिंहले अगामी आवको नीति अधिवेशनमा पेश गरेका थिए ।