चितवन ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपमेयर मञ्जुदेवी गुरुङले शुक्रबार आयोजित ११औं नगरसभामा बजेट सार्वजनिक गरेकी हुन् । चालू आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो ।
बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार रुपैयाँ स्रोत व्यवस्था हुने उल्लेख छ । व्यय गर्नुपर्ने रकममा २ अर्ब ४० करोड ८१ लाख ८३ हजार रुपैयाँ कम हुने देखिन्छ । न्यून बजेट चालू आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट बेहोर्ने उपमेयर गुरुङले बताइन् ।
महानगरले पर्यटन, कृषि, पूर्वाधार तथा शहरी विकास, शिक्षा, रोजगार प्रवर्द्धनलगायतमा जोड दिएर बजेट ल्याएको छ । शुक्रबार बजेट प्रस्तुत हुनुपूर्व नै रातो किताब प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका थिए । एमालेका प्रतिनिधि र मेयर-उपमेयरबीचको वार्तापछि नगरसभा शुक्रबार बेलुकी ७ बजे पुनः बसेको थियो ।