काठमाडौं – ड्युटीबाट फर्कदै गरेका चिकित्सकलाई कुटेको आरोपमा पाँचजना ट्राफिक कारवाहीमा परेका छन् । ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङ कुटेको आरोपमा उनीहरु कारवाहीमा परेका हुन् । प्रारम्भिक जाँचबुझमा पनि कुटेको देखिएको प्रहरीले बताएको छ । पहिला ट्राफिक प्रहरी जवान राजेन्द्र थापामाथी चिकित्सक कुटेको आरोप छ । बाँकीले छुटाउन पर्नेमा केही नगरेको भन्दै प्रहरीले पाँचै जनालाई बग्गीखाना फिर्ता पठाएको छ ।
डा. घिसिङ राति पौने ९ बजे ड्युटी सकेर पैदल हिँड्दै कुसुन्तीस्थित घर फर्किदै थिए । एकान्तकुनस्थित चेक पोइन्ट नजिकै विवाद भएको थियो । ‘राम्ररी हिँड्न सक्दैनस् भन्दै प्रहरीले मलाई कुट्यो, मैले केही गरेको थिइनँ’ घिसिङले भनेका छन् । प्रहरीका अनुसार यो घटना एकान्तकुनामा रहेको ट्राफिक चेक पोइन्टमा ट्राफिक प्रहरी जवान हिँडिरहेका बेला घटना भएको थियो । डा. घिसिङका तर्फबाट उनकी दिदीले घटनाबारे छानबिन र कारबाहीका लागि माग गर्दै प्रहरीमा निवेदन पनि दिएकी छन् ।
प्रहरी जवान थापाले चाहिं डाक्टरले ‘कुम ठोक्काउँदै हिंडेपछि विवाद भएको र भिडियो खिच्न थालेपछि प्रतिवाद’ गरेको बताएका छन् । उनले दाबी गरेका छन्, ‘मोबाइल खोस्दा नाकमा लागेको मात्रै हो ।’
जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार पीडित चिकित्सकले कानून बमोजिम जाहेरी दिए जवान थापामाथि थप कारबाही पनि हुनसक्छ । नभए पनि विभागीय छानबिन र कारबाही हुने शाहले बताए ।
यसैबीच, नेपाल चिकित्सक संघले पनि विज्ञप्ति जारी गरेर डाक्टरमाथि कुटपिट भएको घटनाबारे गम्भिरतापूर्वक छानबिन गरेर दोषी प्रहरीलाई कारबाही गर्न माग गरेको छ ।
‘सुरक्षाकर्मीबाट नै स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक माथि यस्ता प्रकारका अस्वाभाविक र गैर मानवीय कार्य हुनुले समग्र राज्यको शान्ति सुरक्षाप्रति गम्भिर प्रश्न खडा गरेको छ’ संघका महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षाको प्रत्याभूतिका लागि समर्पित हुने व्यक्तिले असुरक्षित वातावरण निर्माण गर्नु अत्यन्तै खेद जनक रहेको नेपाल चिकित्सक संघको ठहर छ ।
ड्यूटीबाट फर्किएका चिकित्सकलाई कुट्ने पाँच ट्राफिक प्रहरी कारबाहीमा
ड्यूटीबाट फर्किएका चिकित्सकलाई कुट्ने पाँच ट्राफिक प्रहरी कारबाहीमा

Advertisement