अछाम : अछाममा पहिरोका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षातले आएको पहिरोले अछाममा ठुलो क्षति भएको छ । पहिरोमा पुरिएर ११ जना बेपत्ता छन् । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका-६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका- ५ बस्ने १७ वर्षीय जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीय मेनिका शाही, तीन वर्षीय कल्पना शाही, २१ वर्षीय भावना शाही र कमलबजार नगरपालिका-६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी,१५ वर्षीय गिता कामी, १२ वर्षीय सिरु कामी रहेको प्रहरीले बताएको छ ।
यस्तै, कमलबजार नगरपालिका-८ ढुङ्गला बस्ने २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई, चार वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । पहिरोमा परेर ११ जना घाइते छन् ।
मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ । अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ।
त्यस्तै सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध छ। अछाममा सञ्चार सेवासमेत अवरुद्ध छ। लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौं परिवार डुबानका कारण विस्थापित भएका छन्। वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।