काठमाडौँ — बाक्लो आवादी रहेको तराईका आठ जिल्ला समेटिएको मधेस प्रदेशमा ३२ निर्वाचन क्षेत्र छन् । यो प्रदेशमा मधेसकेन्द्रित राजनीतिक दलकै प्रभाव बढी छ । तर, यसपटक मधेसकेन्द्रित दलभित्रको विभाजनले चुनावी परिणाममा अन्य दलको समेत उत्तिकै प्रभुत्व हुने निश्चित छ । गत निर्वाचनमा मधेसकेन्द्रित दल मिल्दा यहाँका ३२ मध्ये १९ निर्वाचन क्षेत्रमा मधेसकेन्द्रित दलकै नेता निर्वाचित थिए । नेपाली कांग्रेसले ६, माओवादी केन्द्रले ५ र नेकपा एमालेले २ सिट मात्र जितेका थिए ।
तर, यसपटक भने मधेसका दुई शक्ति जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी फरक–फरक गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएका छन् । जसले गर्दा ३२ मध्ये १७ सिटमा मात्रै मधेसकेन्द्रित दलको उम्मेदवारी परेको छ भने त्यसमध्ये ९ सिटमा उनीहरूबीचमै मुख्य प्रतिस्पर्धा छ ।
यीमध्ये कतिपय निर्वाचन क्षेत्रहरूमा पुराना र चर्चित अनुहारबीचमै कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ मधेस प्रदेशमा रोचक प्रतिस्पर्धा हुनसक्ने छ क्षेत्रबारे चर्चा गरिएको छ ।
सर्लाही–२ : सत्ता गठबन्धन दल नै प्रतिस्पर्धी
सत्ता गठबन्धन दलले देशभर एकल उम्मेदवारी दिएका छन्, केही सीमित क्षेत्रमा असन्तुष्ट भएर बागी परे पनि गठबन्धनको निर्णयविरुद्व परेका त्यस्ता उम्मेदवारी फिर्ता गराउने दलहरूको प्रयास छ । तर, सर्लाही–२ मा भने सत्ता गठबन्धन दलकै नेताहरूबीच प्रतिस्पर्धा छ । यहाँ सत्ता गठबन्धनकै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव भिड्दैछन् । गत निर्वाचनमा महतो धनुषा–३ बाट निर्वाचित थिए भने यादव सर्लाही–२ बाटै । २०७० सालको चुनावमा महतो र यादवबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला यादवले महतोलाई हराएका थिए । जसकारण यहिँबाट निर्वाचित यादवलाई पराजित गर्नु महतोका लागि उति सहज छैन ।
त्यसमाथि एमाले गठबन्धतका तर्फबाट जनता समाजवादी पार्टीका राजनारायण साह अर्का प्रतिस्पर्धी छन् । यसकारण पनि यो निर्वाचनमा सर्लाही–२ को प्रतिस्पर्धालाई चासोका साथ लिइएको छ ।
एमाले सर्लाहीका अध्यक्षसमेत रहेका साह जिल्लास्तरमा लोकप्रिय छन् । तर, राष्ट्रिय राजनीतिमै स्थापित भइसकेका महतो र यादव दुवै पटक–पटक सांसद र मन्त्री भइसकेका नेता हुन् । महतो र यादव दुवै ०४८ देखि चुनाव लड्दै आएका नेता र चिरपरिचित प्रतिद्वन्द्वीसमेत हुन् । सर्लाही–२ महतोका लागि नयाँ क्षेत्र भने होइन । उनी ०४८, ०५१ र ०५६ मा यहीँबाट चुनाव लडेका थिए । तर, ०५६ मा मात्रै जिते । ०६४ मा भने उनले सर्लाही–४ बाट जिते, ०७० मा यहि क्षेत्रमा महतो र यादव आमनेसामने हुँदा महतो पराजित भएका थिए ।
यादवले भने ०४८, ०५१, ०५६ र ०६४ मा निरन्तर चुनाव जितेका थिए । उनले ०७४ मा भने सर्लाही–२ मा कांग्रेसका जंगीलाल यादवलाई पराजित गरेका थिए । यसपटक यादव माओवादी केन्द्रको हँसिया हथौडा चिह्नबाट चुनावी मैदानमा छन् । गठबन्धनको सहमतिअनुसार यादवलाई नेपाली कांग्रेसको समेत समर्थन छ ।
उनको सेटमा प्रदेशसभा (२)तर्फ कांग्रेसका क्षेत्रीय सभापति कौशलकिशोर यादव उम्मेदवार छन् । तर, महतोले पनि आफ्नो सेटमा प्रदेशसभातर्फ (१) क्षेत्रमा जंगीलाल यादवलाई उठाएका छन् । ०७४ मा प्रतिनिधिसभामा पराजित यादव कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् । स्थानीय एक नेताले यहाँ पार्टीभन्दा पनि नेताहरूबीचको गठबन्धन बनेकाले अन्दाज लगाउन मुस्किल पर्ने बताए ।
सप्तरी–२ : दुवै गठबन्धनका उम्मेदवारलाई राउतको चुनौती
मधेसमा उदाउँदै गरेको शक्ति सीके राउत नेतृत्वको जनमत पार्टी हो । यो पार्टीले स्थानीय तह निर्वाचनमा मधेसमा उत्साहजनक परिणाम नल्याएपनि सप्तरीमा भने यसको प्रभाव छ । यसपटक सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि राउत आफैँ उभिँदा दुई ठूला गठबन्धनका लागि चुनौती बनेका छन् । यहाँ नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसको समर्थनमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर उम्मेदवार छन् ।
यो क्षेत्रबाट ०७४ मा यादव नै निर्वाचित थिए । त्यसबेला उनको दल संघीय समाजवादीले राजपासँग तालमेल गरेको थियो । यादवले २१ हजार ६२० मत ल्याउँदा बामगठबन्धनका उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत ल्याएका थिए । राजपाका ठाकुरले भने यादवविरुद्व बागी उम्मेदवारी दिएका थिए । त्यसबेला उनले ९ हजार ४ सय ५९ मत पाएका थिए । राउत भने पहिलो पटक चुनाव लडेका हुन् ।
मधेसमा भ्रष्टाचारविरोधी अभियान चलाएका उनको पक्षमा केही जनमत छ । स्थानीय निर्वाचनमा उनको पार्टीका वडाध्यक्षले कुल १ लाख १५ हजार मत पाएका थिए । उनको पार्टीले सप्तरीमा दुई वटा स्थानीय तह जितेको छ ।
सत्ता गठबन्धनको सिट बाँडफाँटमा चित्त नबुझेर एमालेसँग तालमेल गरेका यादवको लागि यो चुनावमा ठाकुर र राउत दुवै चुनौती बनेका छन् ।
धनुषा–४ : यादव र महासेठबीच दोस्रो प्रतिस्पर्धा
धनुषा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि फेरि महेन्द्र यादव र रघुबीर महासेठ मैदानमा उत्रिएका छन् । यादव नेपाली कांग्रेसका सहमहामन्त्री हुन् भने महासेठ नेकपा एमालेका सचिव हुन् । पटक–पटक सांसद, मन्त्री बनिसकेका र हाल पार्टीको केन्द्रीय पदाधिकारी रहेका यादव र महासेठबीचको कडा टक्कर हुन सक्छ ।
०६४ र ०७० मा समानुपातिकबाट संविधानसभा सदस्य बनेका यादव ०७४ मा यही क्षेत्रमा महासेठसँग पराजित भएका थिए । वाम गठबन्धन हुँदा महासेठले दुई हजार ५४१ मतले यादवलाई जितेका थिए । महासेठले २२ हजार ५३२ मत ल्याउँदा यादवले १९ हजार ९९१ मत ल्याएका थिए । महासेठ ०६५ को उपनिर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यसपटक भने क्षेत्रको राजनीतिक समीकरण भने भिन्न छ । कांग्रेसका यादवलाई लोकतान्त्रिक समाजवादी र माओवादी केन्द्रको समेत साथ छ भने महासेठ एमालेका मात्रै उम्मेदवार हुन् । यहाँ जनता समाजवादी पार्टीले महाजन यादवलाई उम्मेदवार बनाएको छ । यहाँ जसपा र एमालेबीच केन्द्रमै मित्रवत् प्रतिस्पर्धा गर्ने समझदारी छ ।
धनुषा–३ : विमलेन्द्र र राजेन्द्रले छोडेपछि महतो र झा पहिलोपटक प्रतिस्पर्धामा
गत निर्वाचनका दुवै प्रतिस्पर्धीले मैदान छोडेपछि धनुषा–३ मा लोकतान्त्रिक समाजवादीका नेता अनिल झा र नेकपा एमालेकी नेता जुलीकुमारी महतोबीचको प्रतिस्पर्धा पनि निकै रोचक हुने देखिएको छ ।
०७४ मा रौतहट–१ बाट निर्वाचित झा अहिले धनुषा–३ मा गएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोसपा गठबन्धनबाट उम्मेदवार बनेका हुन् । महतोका लागि भने यो क्षेत्र नयाँ होइन । उनी नेकपा एमाले र जसपाको गठबन्धनबाट उम्मेदवार बनेकी हुन् । त्यसो त महतो ०७० मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग यही क्षेत्रमा पराजित उम्मेदवार हुन् ।
०७४ मा निधिलाई राजपाका राजेन्द्र महतोले हराएका थिए । तर, यसपटक निधि र महतो दुवैले यो क्षेत्र छोडेका छन् । त्यसबेला महतोले ३० हजार ७५० मत प्राप्त गरेका थिए भने निधिले २७ हजार ८४७ मत पाएका थिए ।
पर्सा–१: यादवको पुरानै, कर्णलाई नयाँ क्षेत्र र गठबन्धनकै बागीको चुनौती
प्रभावशाली नेताहरूको उम्मेदवारीका कारण पर्सा–१ को प्रतिस्पर्धा पनि रोचक बनेको छ । यहाँ सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन् भने विपक्षी गठबन्धनबाट जनता समाजवादी पार्टीका नेता एवम् वनमन्त्री प्रदीप यादव उम्मेदवार छन् । गठबन्धनमा नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति अजयकुमार द्विवेदीले बागी उम्मेदवारी दिएपछि प्रतिस्पर्धा झन् रोचक बन्न सक्ने देखिएको हो ।
गत निर्वाचनमा यो क्षेत्रबाट यादवले चुनाव जितेका थिए । त्यसबेला संघीय समाजवादी र राजपा गठबन्धनबाट यादवले २१ हजार १३२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अनिलकुमार रुंगटाले १६ हजार ४८१ मत प्राप्त गरेका थिए । उनी ०७० मा यही क्षेत्रमा नेकपा एमालेका विचारी यादवसँग पराजित भएका थिए । यसपटक आफूलाई एमालेको साथ हुँदा यादव जितका लागि विश्वस्त देखिन्छन् । तर, अघिल्लो पटकको समाजवादी–राजपा गठबन्धनको सबै मत यसपटक यादवले पाउने मुस्किल छ । त्यसको केही हिस्सा कर्णले पाउन सक्छन् ।
०७४ मा पर्सा–४ बाट चुनाव जितेका कर्ण अहिले त्यो क्षेत्र छोडेर क्षेत्र नं. १ बाट उम्मेदवार बनेका हुन् । आफ्नै पार्टीको ठूलो जनमत नहुँदा उनलाई गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमाथि भर गर्नुपर्ने अवस्था छ ।
सिरहा–२ : चित्रलेखा र राजकिशोर भीड्दै
नेपाली कांग्रेसकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादव र जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव यसपटक सिरहा–२ मा भिड्दैछन् । यादव सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् भने राजकिशोरलाई नेकपा एमालेको समर्थन छ । चित्रलेखा र राजकिशोर दुवै पटक–पटक सांसद र मन्त्री भइसकेका नेता हुन् ।
यो क्षेत्र नेकपा माओवादी केन्द्रको समेत राम्रो प्रभाव क्षेत्र भएकाले चित्रलेखा त्यसको गठजोडमा आफ्नो जित सहज हुने विश्वासमा छिन् । गत निर्वाचनमा यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका सुरेसचन्द्र दास निर्वाचित भएका थिए । उनले यही क्षेत्रबाट ०४८ र ०५१ मा समेत चुनाव जितेका थिए ।
चित्रलेखाले ०५६ मै यहाँबाट प्रत्यक्षतर्फ चुनाव जितेकी थिइन् । ०७४ मा माओवादी केन्द्रका दासलाई एमालेको समर्थन थियो । तर, यसपटक एमालेको साथ राजकिशोरलाई छ । उनी गत निर्वाचनमा भने सिरहा–४ बाट निर्वाचित भएका थिए ।