भरतपुर, २६ असोज ।
गएको स्थानीय निर्वाचनमा पार्टीले गरेको गठबन्धनको विरुद्धमा लागेको भन्दै काग्रेसको कारवाहीमा परेका पाँच जनाको कारवाही फुकुवा भएको छ । उनीहरूको सक्रियताको आधारमा केन्द्रको परिपत्र अनुसार जिल्लाका पाँच नेताको कारवाही फुकुवा गरेको हो । राष्ट्रिय सभाका पूर्व सांसद भीमबहादुर श्रेष्ठ, नेपाल तरुण दल चितवनका पूर्व अध्यक्ष शम्भु अर्याल, पूर्व जिल्ला सचिव आनन्द राउत, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशील सदस्य केशव पौडेलको कारवाही फिर्ता भएको नेपाली काँग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारीले बताए ।
पर्टीको निर्णय विपरीत बागी उम्मेदवारलाई सहयोग र समर्थन गरेको आरोपमा पार्टीले कारवाही गरेको थियो । उनीहरूलाई साविककै हैसियतमै काम गर्ने गरी निर्णय भएको हो । काँग्रेसको जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले असोज १७ गतेको पार्टीको परिपत्र अनुसार फिर्ता गर्ने निर्णय गरेको प्रवक्ता अधिकारीले बताए । उनीहरूसंगै केन्द्रले विधानतः कारवाही गरेका तीन जनाको भने कारवाही फिर्ता भएको छैन ।
भरतपुर महानगरपालिकाको निर्वाचनमा पार्टीले गरेको चुनावी गठबन्धन विरुद्ध उम्मेदवारी दिएका जगन्नाथ कंडेल, प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेलको कारवाही भने फिर्ता भएको छैन । विधानअनुसार कारवाही भएकालाई केन्द्रले नै निर्णय गर्नुपर्ने प्रावधान भएकोले कारवाही फिर्ता नभएको अधिकारीले बताए ।