क्रिकइन्फो, ३० असोज ।
टि-ट्वान्टी विश्वकप अन्तर्गत प्रारम्भिक समूह चरणको पहिलो खेलमा नामिबियाले सनसनीपूर्ण सुरुवात गरेको छ । उसले आइतबार श्रीलंकालाई ५५ रनले पराजित गरेको हो ।
जीतका लागि १६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान दसुन सनकाले २९ रन बनाए । त्यस्तै भानुका राजपाक्षेले २० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । नामिबियाका लागि डेभिड विसे, बर्नान्ड स्चोल्ट्ज, बेन निकोन्गो र जान फ्राइलिन्कले दुई-दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले सात विकेट गुमाएर १६३ रन बनाएको थियो । नामिबियाले ३५ रन बनाउँदासम्म तीन विकेट गुमाएको थियो । कमजोर सुरुवातका बावजुद मध्य र तल्लो क्रमका ब्याट्सम्यानले सम्हालेर खेलेपछि उसले चुनौतीपूर्ण योगफल तयार पार्न सकेको हो । नामिबियाका लागि जान फ्राइलिन्कले सर्वाधिक ४४ रन बनाए । उनले २८ बलको सामना गरेर चार चौका प्रहार गरे । त्यस्तै स्टेफान बार्डले २४ बलमा २६ रन बनाए ।
जीतपछि नामिबियाले दुई अंक हात पारेको छ । यो जितले प्रारम्भिक चरणको समूह ‘ए’ मा रहेको नामिबियाको ‘सुपर १२’ पुग्ने सम्भावना बलियो भएको छ ।
आइतबारकै अर्को खेलमा नेदरल्याण्ड्सले यूएईलाई ३ विकेटले हराएको छ । युएईले दिएको ११२ रनको लक्ष्य उसले १९.५ ओभरमा सात विकेट गुमाएर भेट्टाएको हो । नेदरल्याण्ड्सका म्याक्स ओ डाउडले २३ रनको योगदान गरे । बलिङतर्फ युएईका जुनैद सिद्धिकीले ३ तथा बसिल हमिद, आयन अफजल खान, कार्तिक मेयप्पन र जाहुर खानले एक-एक विकेट लिए पनि टोलीलाई जीत दिलाउन भने सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १११ रन बनाएको थियो ।
जीतपछि नेदरल्याण्ड्सले दुई अंक बटुलेको छ । समान दुई अंक प्राप्त गरेको नामिबिया नेट रन रेटका आधारमा समूह ए मा पहिलो स्थानमा छ भने नेदरल्याण्ड्स दोस्रो स्थानमा रहेको छ ।