भरतपुर, ३ कात्तिक ।
नेपाल आर्मीकी जयरानी थारुले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँचौँ स्वर्ण पदक जितेकी छिन् । उनी सम्मिलित आर्मीको टिमले महिला ४ गुणा ४०० रिलेमा स्वर्ण जितेपछि उनको पदक संख्या ५ पुगेको हो । ५ स्पर्धामा भाग लिएकी जयरानीले सबै स्पर्धामै स्वर्ण जितिन् । तीध्ये ३ वटा स्पर्धामा उनले राष्ट्रिय कीर्तिमान नै बनाएकी हुन् ।
जयरानीसहित सरस्वती भट्टराई, निर्मला थापा र कसेली चौधरी रहेको आर्मीले रिले दौड ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गरेको थियो । यो स्पर्धामा एपीएफ पहिलो भएपनि लेन परिवर्तन गरेका कारण अयोग्य घोषित भएको थियो ।
निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मिलित लुम्बिनीले ४ मिनेट १४.८० सेकेन्डमा दा्रैड पूरा गर्दै रजत पदक जित्यो । सन्तोषी श्रेष्ठ, अञ्जु खड्का, रजिना दुलाल र स्वागत खाइजु, रहेको वाग्मती प्रदेशले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कांस्य पदकमा चित्त बुझायो ।