भरतपुर, ३ कात्तिक ।
बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको दुई महिना नबित्दै पदबाट राजीनामा दिएकी छन् । जटिल राजनीतिक तथा आर्थिक संकटबीच लिजले बिहीबार राजीनामा दिएकी हुन् ।
४५ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले घोषणा गरेअनुसार काम गर्न नसकेको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेका थिए । केही दिन यता उनलाई आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरूले राजीनामा दिन दबाब दिइरहेका थिए । नयाँ प्रधानमन्त्री चयनका लागि कन्जर्भेटिभ पार्टीभित्र नै चुनाव हुनेछ । अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि लिज नै प्रधानमन्त्री रहनेछिन् । ट्रसको मन्त्रिमण्डलमा गृहमन्त्री रहेकी सुएला ब्रेवरम्यानले बुधबार नै राजीनामा दिएकी थिइन् ।
बेलायतको इतिहासमा उनी सबैभन्दा थोरै समय प्रधानमन्त्रीको पदमा बसेर बाहिरिएकी छिन् । यसअघि सन् १८२७ सबैभन्दा थोरै समय ११९ दिनका लागि जर्ज क्यानिङ प्रधानमन्त्री रहेका थिए ।