भरतपुर, ७ कात्तिक ।
भरतपुर हाइटमा रहेको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरले आकस्मिक कक्षलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाएको छ । ‘ट्रमा’ उपचारका लागि युरोपबाट प्रशिक्षण लिएर आएको आधारमा यसअघि नै रहेको आकस्मिक कक्षलाई युरोपियन मापदण्डको बनाइएको हो । अस्पतालको उक्त आकस्मिक कक्षको सोमबार उद्घाटन गरिएको हो ।
अस्पतालमा अब ‘ट्रमा इमरजेन्सी सर्भिस’का लागि ४ जना विशेषज्ञसहित १५ जना स्वास्थ्यकर्मीको टोली हरदम तयारी अवस्थामा रहने अस्पतालका कार्यकारी अध्यक्ष डा. प्रमोद लामिछानेले बताए । “निरन्तर सेवाका लागि प्रविधि तथा भौतिक पूर्वाधारलाई समयसापेक्ष ढंगले विस्तार एवं सुधार गर्दै जानुपर्छ भन्ने मान्यताका साथ हामीले छुट्टै आकस्मिक कक्षको सुरुवात गरेका हौं”, हाडजोर्नी विशेषज्ञ समेत रहेका डा. लामिछानेले भने ।
चोटपटक तथा दुर्घटनाका घाइतेको ‘ट्रमा’ उपचारमा विश्वस्तरीय प्रविधिको प्रयोग र सेवाका लागि अस्पतालले आइएसओ ९००१ः२०१५ प्रमाणपत्र पाउन सफल भएको पनि डा. डामिछानेले जानकारी दिए । सो मान्यताले आफूहरूमा थप बिरामीको सेवामा जुट्न र हरदम सेवालाई प्रभावकारी बनाउन हौसला थपिएको डा. लामिछानेले जिकिर गरे ।
वि.सं. २०६८ असार २४ गते स्थापना भएको एलाइभ हस्पिटलमा हालसम्म १८ हजारभन्दा बढी सफल शल्यक्रिया भइसकेको अस्पतालले जनाएको छ । अस्पतालले हाल मेरुदण्ड, न्यूरो र हाडजोर्नीको शल्यक्रिया, अनुहारको हड्डीसम्बन्धी शल्यक्रिया (मेक्जिलोफेसियल), चोटपटक, जोर्नी प्रत्यारोपण तथा दुरबिनबाट जोर्नीको शल्यक्रिया लगायतका सेवा दिइरहेको छ । हाल अस्पतालमा ‘ट्रमा’ सेवातर्फ ६ जना विशेषज्ञ शल्यचिकित्सक (सर्जन) तथा ३ जना विशेषज्ञ एनेस्थेसियोलोजिस्ट आबद्ध छन् ।