सिड्नी, १० कात्तिक ।
दक्षिण अफ्रिकाले आइसीसी टिट्वान्टी विश्वकपको सुपर १२ मा बिहीबार पहिलो जीत हात पारेको छ । उसले बंगलादेशमाथि १०४ रनको प्रभावशाली जीत निकालेको हो ।
सिड्नीमा २०६ रनको विशाल योगफल पछ्याउन उत्रिएको बंगाली टोली १६.३ ओभरमा जम्मा १०१ रनमा सीमित हुन पुग्यो । उसका लागि लिटन दासले सर्वाधिक ३४ रनको योगदान दिए । त्यसबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहन सकेन । बंगलादेशी पारीमा ६ जना ब्याट्सम्यान व्यक्तिगत दोहोरो अंकको स्कोर नबनाई आउट हुन पुगेका थिए । अफ्रिकी टोलीलाई फराकिलो अन्तरको जीत दिलाउनका लागि आन्रिच नोकियले ४ विकेट लिए । ३.३ ओभरको स्पेलमा उनले जम्मा १० रन खर्चिएका थिए । उनका अलावा तारबिज शामसीले ३ तथा कागिसो रबाडा र केशव महाराजले १-१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले बायाँहाते ब्याट्सम्यान रिली रुसोको शतकीय पारीको मद्दतमा २० ओभरमा पाँच विकेट गुमाएर २०५ रनको विशाल योगफल बनाएको थियो । उनी प्लेयर अफ दि म्याच घोषित भए । ५६ बलको सामना गरेका उनले १०९ रन बनाए । जारी प्रतियोगिताको पहिलो शतक बनाएका उनले पारीमा ७ चौका र ८ छकका जोडे । अफ्रिकाले ओपनर टेम्बा बाभुमालाई व्यक्तिगत २ रनमा गुमाएपनि रुसोले अर्का ओपनर क्विन्टन डि ककसँग दोस्रो विकेटका लागि १६३ रनको साझेदारी गरेका थिए । डि कक ६३ रन बनाएर आउट भए । बंगलादेशमा लागि शकिब अल हसनले दुई विकेट लिँदा तास्किन अहमद, हशन ममुद र अलिफ हुसैनले १-१ विकेट चट्काए ।
जीतपछि दक्षिण अफ्रिकाले २ अंक जोडेको छ । दक्षिण अफ्रिकाले यसअघि जिम्बाब्वे विरुद्ध खेलेको पहिलो खेल वर्षाका कारण रद्द हुन पुगेको थियो । जसकारण दक्षिण अफ्रिका र जिम्बाब्वेले अंक बाँढेका थिए ।