चितवन, कार्तिक १६ ।
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले दुई पूर्वसभापतिको नाम हटाएर पूर्व जिल्ला पार्टी सभापतिको नाम सार्वजनिक गरेपछि जिल्ला सचिव ध्रुवराज पोखरेलले असहमति पोखेका छन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्व सभापति कृष्णलाल सापकोटा र विकास कोइरालाको नाम हटाएर बाँकी पूर्व सभापतिको नाम प्रकाशित गरेपछि सचिव पोखरेलले विज्ञप्ति नै निकालेर सभापतिको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।
पार्टीले कारबाही गरेको तीन वर्षको समयसीमा सकिएर पार्टीमा अविचलित संगठनमा रहेका कोइरालाप्रति जिल्ला सभापतिले आग्रहपूर्ण व्यवहार गरेको आरोप पोखरेलले लगाएका छन् । पार्टीले कारबाही गरेको व्यक्ति पूर्व सभापति नभएको खनालको विज्ञप्तिमा उल्लेख थियो ।
सचिव पोखरेलले सभापति खनाललाई व्यक्तिको स्वतन्त्रता र मर्यादालाई हनन नगर्न जिल्ला सभापतिलाई सुझाएका छन् । संघीय र प्रादेशिक निर्वाचनको समयमा काँग्रेस र काँग्रेस समर्थित गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्नेमा पार्टी सभापतिले समयको माग बुझ्न नसकेको उनले बताएका छन् । पार्टी नेतृत्वले सुझबुझपूर्ण ढंगले सबै पक्षको सम्मान गर्न नसकेको पोखरेलको आरोप छ ।
चितवन कांग्रेसको जिल्ला कार्य समितिले २०७६ चैत ३ गतेको निर्णयले कोइरालालाई पूर्व जिल्ला सभापतिले सम्बोधन गरी कारबाही फुकुवा र क्रियाशील सदस्यता नवीकरण गर्न २०७६ चैत ६ गते केन्द्रीय समितिमा सिफारिस गरेको थियो । उक्त तथ्यलाई नजर अन्दाज गर्नु संस्थागत निर्णयको निरन्तरको अवमूल्यन ठहर्ने सचिव पोखरेलले बताएका छन् ।
कोइरालाले पूर्व जिल्ला सभापतिको हैसियतमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि सार्वजनिक रूपमा निमन्त्रणा गरेपछि नेपाली काँग्रेस चितवनले उनी पूर्व जिल्ला सभापति नभएको प्रष्टीकरण दिएको थियो । कोइराला दुई महिनाको अष्ट्रेलिया बसाइपछि हालै चितवन आएका हुन् । निर्वाचनको माहोल तातेको बेला कोइरालाले चियापान आयोजना गरेका हुन् । बुधबार दिउँसो १ बजे उनले उद्योग वाणिज्य संघ चितवनमा कार्यक्रमको आयोजना गरेका छन् ।