मेलबर्न, २७ कात्तिक ।
इंग्ल्याण्डले आठौँ संस्करणको आइसीसी टि-ट्वान्टी क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार अष्ट्रेलियाको मेलबर्नमा खेलिएको फाइनलमा उसले पाकिस्तानलाई पाँच विकेटले हराएको हो । उसले दोस्रो पटक टि-ट्वान्टी विश्वकप चुम्दै सर्वाधिक विश्वकप जित्ने टोलीको मामलामा वेष्ट इन्डिजसँग बराबरी पनि गरेको छ ।
फाइनलमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य उसले खेल सकिन ६ बल बाँकी छँदा पाँच विकेट गुमाएर भेट्टायो । इंग्ल्याण्डका ओपनर ब्याट्सम्यान एलेक्स हेल्स पहिलो ओभरमै शहीन शाह अफरिदीको सिकार बनेका थिए । उनले जम्मा रन बनाए । त्यसपछि दोस्रो ओभरमै इंग्ल्याण्डले १४ रन जोडेको थियो ।
राम्रो लयमा देखिएका कप्तान जोश बटलर छैटौँ ओभरमा हरिस रौफको बलमा विकेटकिपर मोहम्मद रिजवानबाट समातिन पुगे । १७ बलमा ३ चौका र १ छक्का प्रहार गरेका बटलर २६ रन बनाएर आउट भए । ह्यारी ब्रुकले २० रनको योगदान गर्दा बेन स्टोक्स ५१ रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि कप्तान बाबर अजामले ३२ र सान मसुदले ३८ रन बनाए ।
इंग्लिस बलिङसामु निरिह देखिएका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । कसिलो बलिङ गरेका इंग्लिस बलरले पाकिस्तानलाई अन्तिमसम्मै आफ्नो चंगुलमा पारेका थिए । कुनै समय सम्हालिएको अवस्थामा रहेको पाकिस्तानले नियमित विकेटको पतनपछि अन्तिम चार ओभरमा जम्मा १८ रन जोड्न सकेको थियो ।
इंग्ल्याण्डका लागि तीव्र गतिका बलर सेम कुरानले ३ विकेट लिए । यस्तै अदिल रसिद र क्रिस जोर्डनले २-२ विकेट लिए । रसिदले आफ्नो आफ्नो ४ ओभरको स्पेलमा एक मेडेन राख्दै २२ रन खर्चिएका थिए । इंग्ल्याण्डका अल राउण्डर बेन स्टोक्सका नाममा पनि एक विकेट रह्यो ।
सन् २०१९ को एकदिवसीय विश्वकप जितेको इंग्ल्याण्डले ३ वर्षभित्रै टि-ट्वान्टी प्रारूपको विश्वकप पनि जित्न सफल भएको हो ।