भरतपुर, ३ पुस ।
अर्जेन्टिनाले तेस्रो पटक फिफा विश्वकपको उपाधि आफ्नो नाममा लेखाएको छ । आइतबार राति सम्पन्न विश्वकपको २२औँ संस्करणमा उसले फ्रान्सलाई टाइब्रेकर ४-२ ले हराएको हो ।
लुसैल स्टेडियममा खेलको पहिलो हाफमा नै अर्जेन्टिनाले फ्रान्सविरुद्ध २ गोलको अग्रता लिएको थियो । पहिलो हाफको २३औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसपछि ३६औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता दोब्बर पारेको थियो ।
दोस्रो हाफमा भने फ्रान्सले सुन्दर पुनरागमन देखाएको थियो । फ्रान्सका युवा खेलाडी केलियन एम्बाप्पेले ८०औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै गोल अन्तरलाई कम गरेका थिए । त्यसको एक मिनेटभित्र एम्बाप्पेले नै अर्को गोल गर्दै खेललाई बराबरीमा लगेका थिए ।
त्यसपछि एक्ट्रा टाइमअन्तर्गत खेलको १०८औँ मिनेटमा कप्तान मेसीले अर्को गोल गर्दै अर्जेन्टिनालाई जीत नजिक लगेका थिए । तर ११८औँ मिनेटमै एम्बाप्पेले अर्को पेनाल्टीमा गोल गर्दै स्कोरलाई ३-३ को अवस्थामा लगे । उनको ह्याट्रिकका बाबजुद फ्रान्सले जीत निकाल्नबाट चुकेको हो ।
अर्जेन्टिनाले २०२२ फिफा विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग हार बेहोरेको थियो । त्यसपछि भने उसले आफ्नो खेल सुधारेको थियो ।
अर्जेन्टिना यसअघि सन् १९७८ र १९८६ को विश्वकपमा पनि विजेता रहेको थियो ।