गण्डकी — नेपाली कांग्रेस बेगरको नयाँ सत्ता समीकरण बनेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका छन् । यसअघि दाहालकै साथमा सरकार सञ्चालन गरेको नेपाली कांग्रेस भने सत्ता समीकरणबाट बाहिरिएको छ ।सत्ताबाट बाहिरिएका नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेपाल लिटरेचर फेस्टिभलको एकै मञ्चमा बसेर कुरा गरे । दुवैको स्वर एकै थियो ।
विश्वकप फुटबलसँग राजनीति जोड्दै दुवै महामन्त्रीले भने, ‘अहिले मेस्सीले जिते । सबैभन्दा बढी गोल एम्बाप्पेले गरे, कांग्रेसले सबैभन्दा बढी सिट जित्यो । मेस्सी अर्कोपटक हुँदैनन्, एम्बाप्पेले जित्छ ।’
थापाले ९९ नम्बरको नागले एक्कासी तल झारेको भन्दै व्यंग्य गरेका छन् । ‘स्नेक एन्ड ल्याडर’ खेलमा ९९ को नागले तल झारेझैं कांग्रेस पनि तल झरेको उनको टिप्पणी थियो ।
कार्यक्रममा सहजकर्ता बसन्त बस्नेतले गगनलाई ‘तपाईं जितेर आउनुभयो कि हारेर आउनुभयो ?’ भन्ने प्रश्न गर्दा आफू केही जिते जस्तो अनि केही हारेजस्तो महसुस गरिरहेको गगनको उत्तर थियो । उनले भने, ‘हिजोको घटना ९९ प्रतिशतमा पुगेपछिको नागबाट तल झरेको जस्तो भएको छ ।’
थापाले कांग्रेसको केन्द्रीय बैठकमा पटकपटक निर्वाचन अघि गठबन्धन नगरौं भनेपनि तालमेल गर्नाले अहिलेको अवस्था सिर्जना भएको बताए । ‘निर्वाचन अघिको तालमेल गर्नको लागि उन्नत राजनीति चाहिन्छ । जुन हामीसँग छैन,’ थापाले भने । चुनावमा कांग्रेसको मत माओवादीलाई ‘ट्रान्सफर’ भएर माओवादीले बढी सिट जितेको थापाको आशय थियो ।
शर्माले नेपाली लोकतन्त्रको हरेक चरणमा प्रतिस्पर्धा देखिएको र यस प्रतिस्पर्धा अब संसदमा पनि देखिने बताए । यस्तै थापाले नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब बनेको बताए । पूर्वप्रधानमन्त्रीको क्लबले छाड्न नमान्दा नेपालको राजनीतिक फ्रणालीमै समस्या बनेको जोडे । ‘हाम्रो डेमोक्रेसीलाई व्यत्ति, पार्टीले कब्जा गरेर राखेको छ । एउटा पूर्वप्रधानमन्त्री अर्को पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ । कति पटक पूर्व हुने भन्ने मात्रै रहृयो सबैको,’ थापाले जोडे ।