पुस १२, सोलुखुम्बु
सोलुखुम्बुको फाप्लु विमानस्थलमा निर्माण गरिएको मुख्य प्रवेशद्वार वर्षौँदेखि उपयोगविहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको ८ करोड ७८ लाख रुपैयाँ लागतमा २०७७ सालमा निर्माण भएकाे विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौँदेखि प्रयोगमा आउन सकेकाे छैन ।
विमानस्थल प्रवेश मार्ग प्रयोगमा आउन नसक्दा यात्रुहरु साँघुरो मार्ग प्रयोग गर्न बाध्य छन् । मार्ग सञ्चालन नहुँदा टावरका कर्मचारी, सुरक्षाकर्मीसहित यात्रुहरु पनि साँघुराे मार्गबाटै ओहाेरदाेहाेर गर्ने गर्छन्।
बिरामीलाई धावनमार्गसम्म लैजाँदा बाटाे साँघुराे भएकाले स्टेचर नै छिराउन गाह्राे हुने गरेकाे नागरिककाे गुनासाे छ । विमानस्थलमा ठूला खालका सामग्री प्रवेश गराउनुपर्ने वा निकाल्नुपर्ने बेला झनै कठिन हुने गरेकाे स्थानीय बताउँछन् । राज्यको करोडौँ लगानीमा निर्माण गरिएकाे संरचना वर्षौँदेखि उपयोगविहीन हुँदा समेत सम्बन्धित पक्ष भने मुक दर्शक बनेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले प्रवेशद्वारभन्दा भित्र भागको पर्खालको झण्डै ५ मिटर भागमा ग्याभिङ जाली नभएकाले सञ्चालनमा आउन नसकेकाे बताउनु भयाे । धावनमार्गकाे माथिल्लो भागको स्टेपमा समेत प्राविधिक समस्या रहेकाले मर्मतपछि मात्रै सञ्चालन गर्न सकिने उहाँकाे भनाइ छ । २०७७ सालमा निर्माण गरिएको प्रवेशद्वार केही महिनामै भत्किएपछि पुनः मर्मत गरिएको थियोे