१५ पुष काठमाडौं ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनु कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरू गरेको आयोगले जनाएको छ ।
आयोगले निर्वाचनको मिति तोकेर सरकारलाई जानकारी गराउने छ ।संवैधानिक व्यवस्थाअनुसार संघीय संसदको गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने हुन्छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेशसभाका सांसदहरु मतदाता रहने छन् ।
निर्वाचनमा संघीय संसद् ३३४ र प्रदेशसभाका सदस्य ५५० मतदाता हुनेछन् । मुलुकको विद्यमान जनसंख्या अनुसार यी पदको निर्वाचनका लागि संघीय संसद्का प्रति सदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ ।बहुमतीय प्रणालीबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।
वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ गते सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारीमा आयोग छ । संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभई फरक–फरक मितिमा निर्वाचन हुनेछ ।
संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ ।आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन गत मंसिर २९ गते बुझाएको थियो । राष्ट्रपतिको आह्वानबमोजिम दुईभन्दा बढी दलको समर्थनमा पुस १० गते नयाँ सरकार गठन भइसकेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सम्पादन गर्नुपर्ने कामका लागि आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।निर्वाचनमा उम्मेदवार हुन संघीय संसद्को सदस्यका लागि हुनुपर्ने योग्यताका साथै कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा कुनै कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ ।
निर्वाचनमा मनोनयनका लागि मतदाता नामावलीमा नाम समावेश भएका पाँच जना प्रस्तावक र पाँच जना समर्थक आवश्यक पर्ने कानुनी व्यवस्था छ ।