प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ/आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।
भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्षअघि देशको सार्वभौमसत्ता संरक्षणका लागि आजकै दिन स्वदेश फर्किएका हुन् ।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।