तेहरान, १८ पुस
इरानी अधिकारकर्मी तथा पत्रकार केभान समिमीलाई रिहा mगरिने बताइए पनि अहिलेसम्म हिरासतमा नै राखिएको उहाँको परिवारले सोमबार एएफपीलाई बताएको छ ।
सन् २०२० को डिसेम्बरमा ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र’ गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएका ७३ वर्षीय वृद्धलाई रिहा गरिएको सरकार निकट दैनिक ‘शार्ग’ले आइतबार जनाएको थियो ।
राजधानी तेहरानबाट २०० किलोमिटर पूर्वमा पर्ने सेम्नानको जेलमा समिमी अझै पनि सजाय भोगिरहेकोे उहाँको परिवारले सोमबार जनाएको छ ।
सन् २०२२ को फेब्रुअरीमा स्वास्थ्य समस्याका कारण उहाँलाई स्वदेश फर्कन अनुमति दिइएको थियो ।
मेहर समाचार संस्थाका अनुसार राष्ट्रिय सुरक्षाविरुद्ध गतिविधि गरेको आरोप लागेपछि उहाँलाई मे महिनामा पुनः जेल पठाइएको थियो ।
गत डिसेम्बरमा उहाँले १६ सेप्टेम्बरमा महसा अमिनीको मृत्युपछि भएको विरोध प्रदर्शनलाई समर्थन गर्ने सन्देश जेलबाट प्रकाशित गर्नुभएको थियो ।
इरानी अधिकारीहरूले अशान्तिका कारण सुरक्षा बलका सदस्यहरूसहित सयौं व्यक्तिको मृत्यु भएको र हजारौंलाई देशव्यापी रूपमा गिरफ्तार गरिएको बताएका छन् ।
समिमीले सन् १९७९ को इस्लामी क्रान्तिअघि र पछि पनि जेल सजाय भोग्नुभएको थियो । आइतबार पनि शार्ग पत्रिकाले आफ्ना एक पत्रकार मिलाद अलाभीलाई पक्राउ गरेको घोषणा गरेको छ ।
गत महिना शार्गले इरानमा प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका करिब ४० जना पत्रकार र फोटो पत्रकारको सूची सार्वजनिक गरेको थियो ।
(रासस÷सिन्ह्वा)