फागुन १८, काठमाण्डाै
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रूपमा आफूमाथि सबैले भरोसा राखेको बतानुभएको छ ।
बिहीवार आठ दलको तर्फबाट राष्ट्रपति चुनावलाई केन्द्रित गरी सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेता पाैडेलले आफूले सबैको माया पाएको बताउनुभयो । उहाँले सबै सांसदहरू आफ्नो उम्मेदवारीप्रति सकारात्मक रहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबैसँग सम्पर्क र भेटघाट भइरहेको छ । मैले आफ्नो जिम्मेवारी पूरा गर्छु भनेर उहाँहरूलाई विश्वास दिलाउने काम गरिराखेको छु । सबै अत्यन्त सकारात्मक हुनुहुन्छ । तपाईँ पुरानो मान्छे भनेर माया गर्छन् । सबै साथीहरूले माया गर्नुहुन्छ । तपाईँमाथि भरोसा छ, तपाईँले अवश्य पनि संविधानको संरक्षण गर्नुहोला भन्छन् ।’
कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहालले पार्टीका अध्यक्ष प्रचण्डले विगतमा जस्तो संविधान मिच्ने काम राष्ट्रपतिबाट नहोस् भनी सचेत गराएको बताउनुभयो । प्रचण्डले आउँदा दिनमा हरेक मुद्दाहरूमा राष्ट्रिय एकता गरेर जानुपर्ने कुरा बताउनुभएकाे उहाँले उल्लेख गर्नुभयो ।
त्यसैगरी अभिमुखीकरण कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता, संविधान संशोधन र राजनीतिक बन्दीहरूको रिहाइको सम्बन्धमा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलबाट प्रतिबद्धता आएकाले समर्थन गरिएको कुरा राख्नुभएको त्यस पार्टीका सांसद शरदसिंह भण्डारीले जानकारी गराउनुभयो ।
सांसद भण्डारीले आफूहरू पुस १० गतेभन्दा अगाडिको गठबन्धनको घटक भएको भन्दै आफूहरू सरकारमा स्वतः सहभागी हुने बताउनुभयो । उहाँले आफूहरू सरकारमा सहभागी हुने भए पनि मन्त्रालयको सम्बन्धमा भने छलफल भइनसकेको स्पष्ट पार्नुभयो ।