सन् १९७१ मा आजकै दिन (अप्रिल २४) मा भियतनाम युद्धको विरोधमा अमेरिकामा बृहत् विरोध प्रदर्शन गरिएको थियो ।
अमेरिकी राजधानी वासिङ्टनमा गरिएको प्रदर्शनमा करिब पाँच लाख मानिस सहभागी भएका थिए । उक्त प्रदर्शन अमेरिकाले भियतनामविरुद्ध युद्ध सुरु गरेयताकै सबैभन्दा ठूलो हो । त्यसैगरी सोही दिन अमेरिकाको सान फ्रान्सिस्को सहरमा पनि १ लाख ५६ हजार मानिसहरू युद्धविरोधी र्यालीमा सहभागी भएका थिए ।
विरोधमा सहभागी मानिसहरूले भियतनाम युद्ध अन्त्य गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । दोस्रो विश्वयुद्धको केही समयपछि अमेरिकाले भियतनाममा आफ्नो सैन्यलगायतको संलग्नता बढाउँदै लगेको थियो । १९६९ मा दक्षिणी भियतनाममा रहेका अमेरिकाले सशस्त्र फौजको संख्या ५ लाख ४३ हजार पुर्याएको थियो ।
उत्तरी भियतनामको सत्ता कम्युनिस्टको कब्जामा पुगेसँगै समग्र दक्षिणपूर्वी एसियाली देशको लोकतन्त्र खतरामा पुग्ने भन्दै अमेरिकाले दक्षिणी भियतनामलाई सहयोग गर्ने घोषणा गर्दै सैन्य संलग्नता बढाएको थियो । तर आठ वर्षको लडाइँसँगै ठूलो आर्थिक र मानवीय स्रोत साधन परिचालन गर्दा पनि अमेरिका उत्तरी भियतनामका फौजी र उसका छापामार साझेदारहरू भियत कङ (भियतनाम कम्युनिस्ट) सँग पराजित भएको थियो ।
१९७२ मा उत्तर भियतनामले आक्रमण गरी दक्षिणको ठूलो भूभाग नियन्त्रणमा लिएपछि युद्धविराम सम्झौता भएको थियो । सम्झौताअनुसार अमेरिकी सेना फिर्ता भएपछि उत्तर भियतनामले सैनिक आक्रमण गरी दक्षिणलाई आफूमा गाभेको हो । भियतनाम युद्धका क्रममा २० लाख भियतनामी र ५८ हजारभन्दा बढी अमेरिकी सैनिकले ज्यान गुमाएका थिए ।