लामो समयदेखि रहेको इटहरी उपमहानगर र धरान उपमहानगरको सीमा विवाद पुनः सतहमा देखिएको छ । आइतबार दिउँसो धरानका मेयर हर्क साम्पाङको निर्देशनमा इटहरी तरहरास्थित पानीपियामा धरानको बोर्ड राखेपछि विवाद बढेकाे छ ।
इटहरीले भोग गरिरहेको क्षेत्रमा धरानको बोर्ड राखेको भन्दै युवासंघ इटहरीले आइतबार राति बोर्ड उखेलेको छ । कुनै समन्वयबिना नै प्रचारमुखी ढङ्गबाट इटहरीको क्षेत्रलाई धरान भनेर बोर्ड लगाएको भन्दै युवा संघ इटहरीका कार्यकर्ताहरुले बोर्ड उखेलेका हुन् ।
‘इटहरी र धरानको सिमाना अहिले सेउती खोला हो । धरानको मेयरले कुनै समन्वय र आधिकारिक दस्तावेजबिना लगाएको बोर्ड हटाएका हौँ’, युवा संघ इटहरी उपमहानगरका अध्यक्ष कमलजंग क्षेत्रीले भने, ‘सिमाना जस्तो विषयमा खेलाँची गर्नु हुँदैन ।’
इटहरीको वडा नम्बर २० ले सामान्य नियन्त्रण गर्दै आएको पानीपिया क्षेत्रमा साम्पाङको निर्देशनमा धरान उपमहानगरको ‘सीमा प्रारम्भ’ को बोर्ड आइतबार लगाइएको थियो । सीमा बोर्ड राखेपछि साम्पाङले आफ्नो फेसबुक वालमा आफूहरूले कसैको सीमा नमिचेको जिकिर गरेका थिए ।
इटहरी र धरान छुट्टाउने सीमानाबारे लामाे समयदेखि विवाद रहँदै आएकाे छ । २०७५ सालमा तत्कालीन धरान र इटहरीका जनप्रतिनिधिबीच सीमा विवादबारे संवाद भए पनि कुनै निचाेड निस्केकाे थिएन ।