काठमाडौंसहित देशका धेरै स्थानमा अहिले वर्षा भइरहेको छ । विगत करिब साढे दुई घण्टादेखि निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यो वर्षा विस्तारै कम हुँदै जानेछ । निरन्तर पानी पर्ने छैन । तर, आजै राति १०/११ बजेतिर पुनः वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले बताए ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी वर्षा भएको उनले जानकारी दिए । यो अवधिमा काठमाडौंमा ३१.५ मिलिमिटर वर्षा मापन गरिएको उनले बताए । उनका अनुसार यो अवधिमा काठमाडौंपछि पोखरामा सबैभन्दा धेरै २३.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।
पछिल्लो तीन घण्टामा भने म्याग्दीमा सबैभन्दा बढी १७ मिलिमिटर वर्षा मापन गरिएको उनले जानकारी दिए ।
उनका अनुसार आजभन्दा भोलि मौसम ‘डिस्टर्ब’ हुनेछ । भोलि दिनभर मौसम बदली हुने उनले बताए ।
“तुलनात्मक रूपमा आजभन्दा भोलि मौसम डिस्टर्ब हुनेछ । बिहानैदेखि मौसम बदली हुने देखिन्छ,” उनले बाह्रखरीसित भने, “धेरै स्थानमा वर्षाको सम्भावना छ । कोसी प्रदेशमा दिउँसो हावाहुरीको सम्भावना पनि छ ।”
भोलि देशभर हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ । काठमाडौंमा पनि आइतबार बिहानैदेखि बदली हुने मौसमविद् झाले बताए । “काठमाडौंमा दिउँसो १२/१ बजेपछि वर्षा हुने सम्भावना छ,” उनले भने ।
उनका अनुसार शनिबार मध्यम ‘क्याटगोरी’को वर्षा भएको छ । तर, यो झरी नभएको उनले बताए ।
“प्रिमनसुनमा निरन्तर झरी पर्दैन । केही समय रोकिने र पुनः पर्ने हुन्छ,” उनले भने, “प्रिमनसुनमा थोरै समयमा धेरै पानी पर्ने हुन्छ ।”
हाल देशमा पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभाव रहेको उनले जानकारी दिए ।