चितवनस्थित थारु कल्याणकारिणीसभाले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा छ लाख भन्दाबढी रकम सङ्कलन भएको छ । थारु युवालाई शैक्षिक क्षेत्रमा अगाडि बढाउन उक्त सभाले विसं २०७७ भदौमा स्थापना गरेको यस कोषमा हालसम्म सहभागी १०५ जनाले रु छ लाख भन्दाबढी रकम सहयोग गरेका हुन् ।
मङ्गलबार भरतपुरमा आयोजित छलफल तथा सम्मान कार्यक्रममा कोषका संयोजक जीतबहादुर महतोले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु पाँच लाख २८ हजार भन्दाबढी सङ्कलन हुँदा प्राप्त व्याजसहित कूल रु छ लाख १० हजार नौ सय ७८ सङ्कलन भएको जानकारी दिनुभयो । उहाँले अक्षयकोषमा अझै धेरैको सहभागिता आवश्यक रहेकाले सहयोगका लागि आह्वानसमेत गर्नुभयो ।
थाकसका अध्यक्ष ललितकुमार चौधरीले अक्षयकोषबाट छिट्टै विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने बताउनुभयो । पछिल्लो समय थारु समुदायका युवा उच्च शिक्षा हासिल गर्र्न अग्रसर नरहेको देखिएकाले शिक्षामा अगाडि बढाउन सहयोग गरिने उहाँको भनाइ थियो । कार्यक्रममा शिक्षक कारी महतोले जिल्लाको शिक्षा क्षेत्रमा थारु समुदायले गरेको योगदानसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाँका अनुसार शिक्षण संस्था स्थापना र सञ्चालनका लागि चितवनका थारु समुदायले ३९ बिघाभन्दा बढी जमिनसमेत सहयोग गरेका छन् ।
कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतो, डा सञ्जय चौधरी, इन्टरनेशनल सेकेण्डरी स्कुल खैरहनीका प्रिन्सिपल धनवीर चौधरी, उपप्राध्यापक समिता चौधरीलगायतले थारु समुदायको शिक्षा र अक्षय कोषको बारेमा चर्चा गर्नुभएको थियो ।
रासस