भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक-धुलिखेल सडक विस्तारकाे काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
हिजाे सूर्यविनायक-धुलिखेल सडक खण्डकाे अनुगमनका क्रममा मन्त्री ज्वालाले ताेकिएकाे समयभित्रै काम सक्न निर्देशन दिनुभएकाे हाे ।
उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गरिने बताउनु भएकाे छ । मन्त्री ज्वालाको नेतृत्वमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायतको टोलीले सडक खण्डको अनुगमन गरेको थियो ।
सूर्यविनायक-धुलिखेल सडक खण्ड दुई खण्डमा विभाजन गरी अहिले सडक विस्तारको काम भइरहेको छ । अहिले सडकका दुवै किनारमा पर्खाल निर्माण भइरहेको छ ।
कुल १६ किलोमिटर लम्बाइ रहेको यस सडक खण्ड विस्तारको काम गएकाे वर्षदेखि सुरु गरिएको हो । झन्डै आठ अर्ब ४२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको सडक खण्डमा तीन ठाउँमा पक्की पुलसमेत निर्माण गरिने आयोजनाका प्रमुख राजेन्द्र दासले जानकारी दिनुभयो ।
तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ-बायाँ पाँच-पाँच मिटरको सर्भिस लेन र साढे दुई मिटरको पैदलयात्रुमार्गको निर्माण गरिनेछ ।