मनसुनजन्य विपद्बाट पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र संखुवासभालगायत जिल्लाहरुमा भएको क्षतिको अवस्था, तत्काल गर्नुपर्ने काम तथा सरकारका प्राथमिकताबारे उप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले सरोकारवालाहरुसँग छलफल गरेका छन्।
उपप्रधानमन्त्री श्रेष्ठले खोज तथा उद्धारको निरन्तरता, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थलमा स्थानान्तरण, घाइतेको उपचार, अभाव भएका स्थानमा खाद्यान्नको ढुवानी, खानेपानी तथा विद्युत् आपूर्ति एवं आवागमन पुनर्स्थापनालाई क्रमश: प्राथमिकताका आधारमा थालिसकेको जानकारी दिए।
नेपालमा मनसुन भित्रिएको दिन २०८० जेठ ३१ गतेदेखि परेको भारी वर्षाबाट बुधबार अपरान्हसम्म पूर्वी पहाडका तीन जिल्लासहित भोजपुर, तनहुँ, नुवाकोट र गोरखामा गरी १३ जनाको मृत्यु भइसकेको छ भने २६ जना बेपत्ता छन्।
आठ जना घाइतेको उपचार भइरहेको छ। ४१ वटा घर पूर्ण रुपमा र सातवटा आंशिक रुपमा क्षतिग्रस्त भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट सडक र पुलमा मात्रै ४० करोडको हाराहारीमा क्षति भएको जानकारी दिँदै मेची राजमार्ग सञ्चालन गराउन हेवाखोलामा १० दिन जतिमा बेलीब्रिज राख्न सकिने अनुमान गरिएको बताए।
छलफलमा ताप्लेजुङबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद योगेश भट्टराई, संखुवासभाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद दीपक खड्का, पाँचथरबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद वसन्त नेम्वाङ, प्रतिनिधि सभा सदस्य लिला देवी वोखिम (लिम्बू)ले आ-आफ्ना जिल्लामा तत्काल गर्नुपर्ने कामहरुका बारेमा उल्लेख गरेका थिए।
सांसदहरुले घरबास गुमाएकाहरुका लागि टेन्टको व्यवस्था गर्नुपर्ने, कतिपय स्थानमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्न अवस्था रहेको, तत्कालका उद्धार तथा राहतका लागि जिल्लामा रकम निकासा गर्नुपर्ने, यातायात सञ्चालनमा जोड दिइनुपर्ने लगायतका विषयवस्तुहरु राखेका थिए।
छलफलमा तीनवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु र विपद् सम्बद्ध निकायका अधिकारीहरुको उपस्थिति थियो।