राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्लाई प्रमुख तीन राजनीतिक दलहरूले आफ्नो ‘सिन्डिकेट’ बनाउन खोजेको बताउनुभएको छ ।
आइतवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले संसद्लाई नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताउनुभएको हो । उहाँले तीन राजनीतिक दलहरूका बीचमा सल्लाह मिल्दा संसद् चल्ने र सल्लाह नमिल्दा संसद् नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सदन तीन जना नेताको मात्रै होइन । सदन प्रतिपक्षको हो अझ बढी । सार्वभौम नागरिकले चुनेर पठाएका जनप्रतिनिधिले नागरिकका कैयाैँ सवालमा कुराकानी गर्नुपर्नेछ । उहाँहरूको सल्लाह मिल्यो भने संसद् चल्ने भयो, नमिल्दा संसद् नचल्ने भयो । प्रमुख तीन दलले संसद्लाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो । जनप्रतिनिधिहरू संसदमा आम नागरिकको मुद्दा बोकेर आएका हुन्छन् । सरकारले बिजनेस नै दिन सकिरहेको छैन । सरसल्लाहमा बसेर अनुमति लिएरमात्रै गर्ने भन्ने ? जे मुद्दा छ संसदमा लिएर आउने हाे । संसदमा कुरा गरौँ ।’
सभापित लामिछानेले आफूहरू मिटरब्याज पीडितहरूको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको बताउनुभयो । आफूहरू मिटरब्याज पीडितका लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उहाँले अन्तिम दिनमा संसदमा ल्याउनु नै सरकारको गल्ती भएको बताउनुभयो । आफूहरू संसद् चल्नुपर्ने र प्रधानमन्त्रीले संसदबाट जवाफ दिनुपर्ने पक्षमा रहेको उहाँकाे भनाइ छ ।
लामिछानेले यसअघिको बैठकमा एमालेका सांसदहरूले बोलेपछि सभामुखले आफूहरूलाई बोल्न नदिएर सबै प्रतिपक्षको आवाज नै त्यही हो भन्ने भाष्य निर्माण गरिएको उल्लेख गर्नुभयाे । उहाँले रास्वपाको आफ्नै अडान र मुद्दाहरू रहेको उल्लेख गर्दै त्यसमा आफूहरू अडिग रहेको बताउनुभयो ।