उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीहरूलाई ‘ब्रान्डिङ’ गरी विश्वबजारमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोबल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भई मङ्गलवार नेपाल फर्किएपछि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उपसभामुख रानाले यस्तो बताउनुभएको हो । भ्रमणका क्रममा उहाँले गुइयाङ प्रान्तमा स्थानीय उत्पादनहरूलाई ब्रान्डिङ गरी विश्वबजारमा पठाउने गरेको र नेपालले पनि आफ्ना उत्पादनहरू ब्रान्डिङ गरी विश्वबजारमा पठाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘त्यहाँ (गुइयाङ प्रान्त) को स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर विश्वबजारमा पुर्याएकाे देखियो । यबेन माउताई भन्ने हाम्रो जस्तै रक्सीलाई ब्रान्डिङ गरेर पठाइँदाे रहेछ, हामीमा पनि धेरै यस्ता कुरा छन्, त्यसलाई ब्रान्डिङ गर्नुपर्छ जस्तो लागेको छ ।’
उपसभामुख राना नेतृत्वको संसदीय टोली हिजाे साेमवार राति स्वदेश फर्किएको थियो । भ्रमण टोलीमा प्रतिनिधिसभाका सदस्यहरू मैना कार्की, भगवती चौधरी, डा. चन्दा कार्की भण्डारी र सङ्घीय संसद सचिवालयका उपसचिव विमलराज जोशी सहभागी हुनुहुन्थ्यो ।