चितवन : भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट चितवनका बुद्धिसागर सुवेदीको टोलीले संचालन गर्ने भएको छ । लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत चेन होटल चलाइहेको सुवेदीलगायतको समूहले होटलको कम्पनी नै खरिद गरेर स्वामित्व लिएको हो । गैर आवासिय नेपाली संघ अमेरिकाको निवर्तमान अध्यक्ष रहेका सुवेदीको अध्यक्षता रहेको कम्पनीले हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो ।
सुवेदीसहितको समूहले हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद गरेपछि रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगरमा सरेको हो । ‘हामीले नेपाल सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेका छौं, यस हिसाबले कुल लगानी पाँच अर्ब रुपैयाँभन्दा बढी हुन्छ होला,’ हिमालयन टाइगरका अध्यक्ष सुवेदीले भने , ‘हामी नेपालमा ठूलो नाफा गरौंला भनेर आएका होइनौं, विदेशमा काम गरियो, त्यसबाट मातृभूमिलाई पनि योगदान गरौं भनेर आएका छौं, सरकारलाई तिर्नुपर्ने जति दायित्व सृजना हुन्छ, त्यो सबै तिरेर व्यवसाय गर्ने छौं । ’ अमेरिकामा १२–१५ वर्षदेखि होटल व्यवसायमा गरेको अनुभव नेपालमा उपयोग गर्ने सोचका साथ आफू आएको उनको भनाइ छ ।
सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु सञ्चालन गरिरहेका छन् । उनीलगायतको समूहले अमेरिकाको सिकागो, वासिंगटन डिसी, नर्थ क्यारोलिना, लुजियानालगायत ठाउँमा होटेल चलाइरहेका छन् । तर, नेपालमा भने उनले अर्कै समूहसँग मिलेर टाइगर प्यालेस खरिद गरेका हुन् । हिमालयन टाइगरमा सुवेदी, गैरआवासीय नेपाली संघका एक जना वर्तमान अध्यक्ष कुल आचार्य, क्यानडा च्याप्टरका निवर्तमान अध्यक्ष दीपक गौतम, डा. केशव पौडेललगायतको लगानी छ ।