भरतपुर, २२ माघ ।
बढ्दो ब्याजदर र चेक बाउन्सले गर्दा आफूहरू संकटमा परेको अधिकृत व्यवसायीले बताएका छन् । आर्थिक मन्दीको असर खेपिरहेका व्यवसायीहरूले ब्याजदर एक अंकमा ल्याउन नसके व्यवसायमा टिक्न गाह्रो भएको बताएका हुन् । अधिकृत व्यवसायी संघको १४औं साधारणसभामा अधिकृत व्यवसायीहरूले बैंकले बढाएको ब्याजदरले गर्दा व्यवसाय धरापमा परेको गुनासो पोखेका हुन् ।
अध्यक्ष नारायण प्रधानले चेक बाएन्स र दोहोरो अंकको ब्याजदर अहिलेको मुख्य समस्या रहेको बताए । “एक अंकको ब्याजदर नबनाए व्यवसायमा संकट आउने खतरा छ”, अध्यक्ष प्रधानले भने, “व्यसाय गरेर खाने वातावरण नै छैन ।” उनका अनुसार संघले व्यवसायीको हकहित र सामाजिक काममा अग्रसर रहेको बताए ।
त्यस्तै नारायणघाटमा डिलरलाई फालेर अर्कोले सामान बिक्री गर्नु अर्को समस्या भएको व्यवसायीले बताएका छन् । संघले व्यावसायिक हकहितमा सदैव लागि परेको अध्यक्ष प्रधानले बताए । उनले सबै व्यवसायीलाई एकजुट बनाउँदै नयाँ सदस्यता वितरणलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
भरतपुरको दियालो फुडल्याण्डमा भएको साधारणसभामा संघले गरेका गतिविधि प्रस्तुत गरिएको थियो । महासचिव मनोज रौनियारले पेश गरेको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । प्रमुख अतिथि नेपाल बितरक महासंघका अध्यक्ष हरिराज पन्तले व्यवसायीहरू अहिले समस्यामा रहेको भन्दै सरकारी निकायले व्यवसायीहरूको समस्या बुझ्न आवश्यक रहेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, अधिकृत व्यवसायी संघका संस्थापक अध्यक्ष पवनकुमार पिया, संस्थापक सल्लाहकार प्रचण्डलाल प्रधान, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद गैरे, लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित पदाधिकारीहरूलाई संघले सम्मान गरेको थियो ।