भरतपुर, ६ फागुन ।होटल आइकावाको सेवा उत्कृष्ट फेस्टिवलमा उत्कृष्ट होटल तथा रेष्टुरेन्टमा होटल आईकावा प्रथम भएको छ । फुड फेस्टिबलमा गरिएको अनुगमन र मुल्याङ्कनबाट होटल आइकावाको सेवा उत्कृष्ट भएको हो । केसी रेष्टुरेन्ट द्वितीय र होली लज तृतीय हुँदै नगद पुरस्कार प्राप्त गरे । चितवनको पर्यटकीय नगरी सौराहामा प्रणय दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाले फेस्टिवल आयोजना गरेको थियो । ५ दिनसम्म सञ्चालन भएको सो फेस्टिवल पर्यटन प्रवर्द्बनका हिसाबले सफल भएको र ३० हजार पर्यटकले अवलोकनसँगै झण्डै १ करोड बढी कारोबार भएको रेवान सौराहाका अध्यक्ष ध्रुुव गिरीले जानकारी दिए । चार दिन प्रवेश शुल्क नि:शुल्क गरेको रेवानले प्रणय दिवसको दिन फागुन २ गते मात्र प्रवेश शुल्क लिएको थियो । सो दिन १२ हजार बढीले फेस्टिवल अवलोकन गरेको अध्यक्ष गिरीले बताए । एक दिन लगाइएको प्रवेश शुल्क बापत भएको आम्दानी सौराहाको सौन्दर्यकणका लागि खर्च गर्ने योजना रहेको अध्यक्ष गिरीले बताए ।
चितवन व्राण्डको रुपमा स्थापित १८औं सौराहा फुड फेस्टिवल बिहीबार राति सकिएको छ । चितवनको पर्यटन विकासको लागि प्रणय दिवसको अवसर पारेर फेस्टिवल आयोजना गरिएको हो । सौराहाका व्यवसायीले मुनाफा आर्जन गर्नु भन्दा पनि सौराहामा पर्यटक भित्र्याउन हरेक वर्ष फेस्टिवल गर्दै आएको कार्यक्रम संयोजक सूर्यबहादुर रिमालले बताए । फेस्टिबल अन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रम, स्वादिष्ट खानाका परिकार र विभिन्न प्रतियोगिता गरिएको संयोजक रिमालले बताए । सोही कार्यक्रममा रक्तक्यान्सरबाट पीडित व्यवसायी राजन तामाङकी धर्मपत्नीको उपचारको लागि रेवान सौराहाले १५ हजार र सपना भिलेज सोसल इम्प्याक्टले १५ हजार आर्थिक सहयोग गरेका थिए । सरत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिवलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका थिए ।