कपिलवस्तु : गहुँबारीको आगो फैलँदा कपिलवस्तुको पकडीमा ४० घर नष्ट भएका छन्। यशोधरा गाउँपालिका-१ को पकडी गाउँमा आगलागीका कारण घरमा भएको लत्ता कपडा, खाद्यान्न लगायत सम्पूर्ण सामग्री जलेर खरानी भएको छ। रमवापुर गाउँ पूर्वतर्फ रहेको गहुँ खेतमा लागेको आगो पश्चिमी हावाले फैलँदै पकडी गाउँका ४० घर जलेर नष्ट भएको हो। आगलागीबाट गहुँ बाली भित्र्याएर कोठामा राखेको लाखौं रुपैयाँ मूल्यका ठुलो परिमाणको गहुँ जलेर नष्ट भएको छ।
आगलागीबाट पीडित खुला आकाशमुनि रात बिताउन बाध्य छन्। आगलागीबाट करिब १ करोड रुपैयाँ बढीको क्षति भएको यशोधरा गाउँपालिका-१ का वडाध्यक्ष अब्दुल कैयुम खानले बताए। आगलागीबाट स्थानीय विमलावती रैदासको घरमा रहेका ग्यास सिलिण्डर विष्फोट हुदा आगलागीबाट जलेर क्षति भएको घर विष्फोटका कारण झनै क्षति भएको छ। आगलागी बढ्दै जाँदा वडा नम्बर १ को रजवापुर र तितिर्खी गाउँमा आगो सल्कन नदिन स्थानीयले रजवापुर र तितिर्खी गाउँको पश्चिम तर्फको खेत जोती खेतभरी पानी भरेका थिए। अनि मात्र यी दुई गाउँ आगलागीबाट जोगिएको वडाध्यक्ष खानले बताए। करिब ५ घण्टा पछि कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सबै मिलेर आगो निभाएका थिए।