बेसीसहर : लमजुङको क्व्होलासोथार गाउँपालिका- ३, बगुममा मंगलबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका ४ जनाको शव भेटिएको छ । गएराति १ बजेतिर पहिरोले ३ वटा घर बगाउँदा २ घरका ४ जना बेपत्ता भएका थिए । स्थानीय, प्रहरी र जनप्रतिनिधि मिलेर खोजतलास गर्दा चारैजनाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार पहिरोमा परेर ७० वर्षीय रुद्रमान गुरुङ,अर्को घरमा बस्ने रुद्रमानका बुहारी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू अन्दाजी ९ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता गुरुङको शव फेला परेको छ । ३६ वर्षीय भीमबहादुर घले घाइते रहेको र उपचारका लागि सदरमुकाम बेंसीसहर पठाइएको उनले बताए ।
क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार आमा र २ छोरीको शव घरबाट करिब १५–२० मिटर तल र हुमदेवी गुरुङको धन्सारको आडमा एकैठाउँमा फेला परेको थियो । रुद्रमानको शव भने आफ्नै आँगनको तल्लो कुनामा भेटिएको क्व्होलासोथार गाउँपालिका-३ का वडाअध्यक्ष आसविर गुरुङले जानकारी दिए ।