काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई म्याद थप गराउँन अदालतमा उपस्थित गराइँदै छ । गत शुक्रबार पक्राउ परेका झालाई अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको म्याद बिहीबार सकिँदैछ ।आरोपी ६२ वर्षीय बेचन झालाई प्रहरीले बिहीबार अदालत लैजान लागेको हो । ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थपको अनुमति लिन लागेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले हिरासतमा राख्न अनुमति माग्न अदालत उपस्थित गराउन लागिएको प्रहरी परिषरका एसपी नवराज अधिकारीलेृ बताए ।
झालाई नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । पहिले अनुसन्धान हुँदा ठेगाना नखुलेको भन्दै अनुसन्धान नगरिएका झा पक्राउ परेपछि यो घटनामा दोस्रो चरणको अनुसन्धान सुरु भएको प्रहरी अधिकृतहरु बताउँछन् । झामाथि नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहको नेक्सससम्म पुग्न सकिने विश्वास अनुसन्धान अधिकृतहरुको छ ।
छानबिनका क्रममा उनको नाममा हिमालय बैंकको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो ।
प्रकरणका मुख्य आरोपीमध्येका सानु भण्डारीले ‘१३ मंसिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुने गरी निर्णय गर्दैछ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनु’, भनेपछि लेनदेन भएको केसीले बयानमा बताएका छन् ।
केसीले ८ मंसिर २०७८ को राति ८ बजे मध्य बानेश्वरमा झालाई दुई करोडको चेक दिएको केसीले बयानमा खुलाएको प्रहरीको भनाइ छ । उक्त चेकको फोटो प्रेमराज पन्थीलाई समेत आफूले पठाएको केसीले बताएका थिए ।