१२, माघ चितवन । कानुन व्यवसायीहरुको छाता संगठन चितवन जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता फुलमाया रानाभाट निर्वाचित भएकी छन् । शनिवार भएको २३ औं अधिवेशनबाट रानाभाट अध्यक्ष बनिन् । चितवन बारको इतिहासमा महिला अध्यक्ष भएको यो पहिलो पटक हो । चितवन बारमा दुई वटा प्यानल निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए । रानाभाटले नुनराज सिलवाललाई ३ मतले पराजित गरेकी हुन् । चितवन बारका कुल १६९ मतदातामध्ये खसेको १ सय ६२ मतमा रानाभाटले ८१ मत ल्याइन् । सिलवालले ७८ मत ल्याए ।
रानाभाट वृहत लोकतान्त्रिक गठबन्धन समूहबाट उमेद्वार बनेकी थिइन् । सिलवाल एमाले निकट हुन् । उनी पेशागत कानुन ब्यवसायी संगठनको प्यानलबाट निर्वाचन लडेका थिए ।
उपाध्यक्षमा वृहत लोकतान्त्रिक गठबन्धन समूहकै सिताराम अधिकारी निर्वाचित भए । उनले ९१ मत ल्याए । उनका प्रतिष्पर्धी सरिता सापकोटाले ६६ मत पाइन् । सचिव ,कोषाध्यक्ष र सहसचिवमा पेशागत कानुन ब्यवसायी संगठनको प्यानलका उमेदवार निर्वाचित भएका छन् । सचिवमा कुलचन्द्र खनाल विजयी भए । उनले ८९ मत ल्याए भने उनका प्रतिष्पर्धी बलराम पौडेलले ७० मत पाए । कोषाध्यक्षमा दिपकराज तिमिल्सिना विजयी भए । उनले ८१ मत पाए भने उनका प्रतिष्पर्धी सपि मियाले ७५ मत पाए । सहसचिवमा पवित्रा सुवेदी र महिला सदस्यमा प्रियङ्का थापा निर्विरोध भएका थिए । सदस्यहरुमा किरण गुरुङ(८४) , राजकुमार प्याकुरेल(८१) अजयकुमार तामाङ(८१), शम्भु वर्तौला(७७), सुरेन्द्र राज सुवेदी(७६), केदारराज पन्त(७६),शेखरनाथ पोखरेल (७५) विजयी भए ।
त्यस्तै केन्द्रीय पार्षदमा मुन्ना विक्रम खाती (९७) , राजेन्द्र सिलवाल(९४), श्रीराम दवाडी(८८) , रमेश काफ्ले(८४), पूर्णचन्द्र चापागाई(८२),दिवाकर अर्याल(८२) र गोमा न्यौपाने(८१) विजयी भएका छन् ।