अनिल ढकाल १३ माघ, चितवन। चितवन जिल्ला अदालत बार एसोसिएसनको निर्वाचनमा दुई धारको चुनावी प्रतिष्पर्धा रोमाञ्चक मात्रै बनेन्, उत्तिकै पेचिलो पनि बन्यो । नतिजा मिश्रित आए पनि अध्यक्ष बनाउन सहमति तोडेका एमाले निकट कानुन व्यवसायीका लागी भने परिणाम सुखद रहेन । आफैले गरेको सहमति उल्लघंन गर्दा एमाले निकट कानुन व्यवसायीलाई नराम्रो झट्का लागेको छ । आफैले गरेको सहमति नमानेको एमालेले भुईँको टिप्न खोज्दा पोल्टाको पोखिएको भनेझैं भएको छ । बारको निर्वाचनमा सहमति तोडेर नेतृत्व हत्याउने दाउ पूर्ण रुपमा असफल भएको छ ।
के थियो सहमति ?
यसअघिको निर्वाचनमा प्रजातन्त्रवादी कानुन ब्यवसायीहरुको डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) र बामपन्थी विचार समूहका कानुन ब्यवसायी सहितको पेशागत कानुन ब्यवसायी संगठन (पिएलए) बीच आलोपालोको सहमति गरिएको थियो । गतवर्ष पिएलए र यसपटक डिएलएलाई नेतृत्व सुम्पिने भद्र सहमति भएको थियो । अध्यक्ष पाउनेले कोषाध्यक्ष सहित अल्पमत र नेतृत्व नपाउनेले उपाध्यक्ष , सचिव सहितको बहुमत सदस्य लिने सहमति भएको थियो ।
तर निर्वाचनको समयमा एमाले निकट कानुन ब्यवसायीहरु आफैले गरेको सहमति तोडेर आफ्नै नेतृत्व दावी गर्न थाले । डिएलएले गतवर्षको सहमति अनुसारको नेतृत्वको दावी गर्दा माओवादीलाई छोडेको भनेर अर्को वर्ष दिने आश्वासन दिदैं यसपटक आफुहरुले नेतृत्व दिन नसक्ने अडान राखे । जबकी गतवर्षको सहमतिमा डिएलए र पिएलएमा एमाले माओवादी , नेकपा समाजवादी , राप्रपा थिए । पिएलएमा निर्णय गरेर माओवादी निकट खगराज कंडेललाई अध्यक्षमा अघि सारे । डिएलएले उपाध्यक्ष , सचिव सहित बहुमत लिएर मिलेर निर्वाचन लडेर जिते । त्यसबेला त्यो गठबन्धनको विरुद्धमा अध्यक्षमा निर्वाचन लडेका गजेन्द्र ओस्ति पराजित भएका थिए ।
पटकै पिच्छे फेरिएको बोली
निर्वाचनमा पिएलएले अर्को तुरुप फ्याक्यो कि महिलालाई उमेदवार बनाए सर्वसम्मत गराउन तयार रहेको आश्वासन दिए । डिएलएले अधिबक्ता फुलमाया रानाभाटलाई अघि सा¥यो । त्यसपछि पिएलएमा एमाले निकट अधिबक्ताले निर्वाचनमा जाने अडान लिए । पटक पटकको वार्ता असफल भएपनि निर्वाचनको दिन विहान पनि अघिल्लो पटकको सहमतिको स्मरण गराउँदै डिएलएले अन्तिम पटकको सहमतिको प्रयास पनि असफल भएपछि निर्वाचनमा होमिएका थिए । अन्ततः निर्वाचनमा सबैको मनसंगै फुलमाया रानाभाटले मत जितिन् । प्रजातान्त्रिक कानुन ब्यवसायी र बामपन्थी धारका कानुन ब्यवसायी सांगठनिक अस्थित्वमा कस्सिएर लागे । फुलमाया रानाभाट अध्यक्षमा निर्वाचित भईन् । स्थापनाको पचास वर्षपछि पहिलो पटक महिला अध्यक्ष बनेको रेकर्ड बन्यो ।
भुईँको टिप्न खोज्दा पोल्टाको पनि गुम्यो
आफै गरेको सहमति उल्लंघन गरेको एमाले निकटका कानुन व्यवसायीले अध्यक्ष पराजित मात्रै भएनन् , अधिकाशं पदमा पराजय बेहोर्न प¥यो । कार्यसमितिमा अध्यक्ष , उपाध्यक्ष सहित एमाले निकट सात उमेद्वारमध्ये दुई जना कार्यसमिति सदस्यमा मात्रै चित्त बुझाउन पर्यो । महिला सदस्यमा प्रियङ्का थापा र खुल्ला सदस्यमा शम्भु वर्तोलाले मात्रै जिते । केन्द्रीय पार्षदमा उमेदवार दुई जना मध्ये रमेश काफ्ले मात्रै विजयी भए ।
उडायो सपना सबै हुरिले……
गायक मुरलीधरको‘ उडायो सपना सबै हुरिले ’ गित चितवनको बारको अध्यक्षमा पराजित भएको पिएलएमा ब्यङ्ग्य जस्तै भएको छ । चितवन बारमा अध्यक्षमा निर्वाचित हुनेमा ढुक्क बनेका एमाले निकटका कानुन व्यवसायी पदाधिकारीविहिन अवस्थामा पुगेका छन् । अघिल्लो पटकको सहमति पालना गरेर सर्वसम्मतमा गएको भए पदाधिकारी सहित अधिकांश पदमा आफ्ना चयन हुने थिए ।
पिएलकै प्यानलका अन्यलाई भने उपलब्धि
बरु एमाले निकटको प्यानलबाट उमेद्वार बनेका माओवादी निकटका कुलचन्द वाग्ले सचिवमा , पवित्रा सुवेदी सहसचिवमा र सदस्यमा अजयकुमार तामाङ विजयी भएका थिए । यही प्यानलबाट उमेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी निकटका तीन जना उमेद्वारमा तीनै जना विजयी भए । कोषाध्यक्ष दिपकराज तिमिल्सिना , सदस्यमा राजकुमार प्याकुरेल र केदारराज पन्त विजयी भए ।
अध्यक्ष रानाभाट प्यानलमा उपाध्यक्ष सिताराम अधिकारी, सदस्यमा किरण गुरुङ र सुरेन्द्रराज सुवेदी विजयी भएका छन् । रानाभाटलाई नेकपा एस निकटका कानुन ब्यवसायीले साथ दिएका थिए । दुई प्यानल भएपनि केही माओवादी , रास्वपाले पनि फुलमायालाई भोट हालेपछि उनको जीत सुनिश्चित भएको हो । यसका लागी वरिष्ठ अधिबक्ताहरु खुलेर लविङ गरेका थिए ।
आफ्नो पालामा आलोपालो , अरुको पालामा सहमति भंग
चितवन बारको नतिजा वारे अधिबक्ताहरुमा ठुलै चर्चा भएको छ । विभिन्न कालखण्डमा एमाले निकटका तीन जना अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । धर्मराज आचार्य , जगन्नाथ भण्डारी र आलोपालो सहमतिमा अध्यक्ष बनेका थिए । तर डिएलएको नेतृत्व दिने सवालमा पहिला पनि सहमति भाड्ने गरिएको एक अधिबक्ताले बताए । ‘ अर्को वर्ष दिने भनेर आफ्नालाई अध्यक्ष बनाउने, त्यसपछि सहमति भाँडेर आफ्नैलाई बनाउन खोज्ने प्रवृत्ति पुरानै हो , ’ ती अधिबक्ताले भने , ‘ यसपटक सबै अधिवक्ताले विवेकको प्रयोग गरेर नतिजा यस्तो आएको हो । विपक्षीको समेत मत पाएर फुलमाया अध्यक्ष बन्न सफल भएकी हुन् । ’
तीन बरिष्ठ अधिबक्ताको कमाण्डिङ
पहिला गरेको सहमति पालना गरेर डिएललाई नेतृत्व दिनुपर्ने माग पिएलएले नमानेपछि बरिष्ठ अधिवक्ताहरु माधव खनियाँ , भुपेन्द्र पौडेल र एकनारायण सापकोटाले चुनावी लविङ सुरु गरे । ७० भोट लिएर बाँकी ९८ भोटमध्ये आफ्ना उमेद्वार जिताउन यी तीनको कमाण्डमा जिल्ला अधिबक्ताहरु खटिए । पहिला आफ्ना मतभेद हटाएर सबैमा बारलाई साझा चरित्र बनाउन अभियान थाले । विपक्षीबाट पनि ग्रिन सिग्नल आएपछि सबैको साथबाट पचास वर्षमा पहिलो पटक चितवन बारमा महिला अध्यक्ष बनेर रेकर्ड बनेको छ । १६९ जम्मा मतदातामध्ये काँग्रेस निकटका कानुन ब्यवसायीहरु ७० जना छन् । एमाले निकटका ५५ , माओवादी निकटका २१, नेकपा एसका ४ , राप्रपा निकटका २ , रास्वपाका ९ र स्वतन्त्र ८ छन् ।