चितवन । इजाजतको म्याद सकिदा पनि अटेर गरी मनोमानी ढंगले ठिमुरामा संचालन भएको अस्थाई क्रसर उद्योग भरतपुर महानगरपालिकाले रोक लगाएको छ । अनुमति अवधि सकिएको ६ महिना हुँदापनि अवैध रुपमा संचालित क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले पत्र काटेर तत्कालका लागी क्रसर उद्योग संचालनमा रोक लगाएको हो । भरतपुर महानगरपालिका १ ठिमुरामा अवैधरुपमा क्रसर उद्योग संचालनले जनजीवन र वातावरणीय असर पदाृ पनि निमार्ण कम्पनीले अटेर गरेको थियो । महानगरपालिकाले दिएको म्यादको बेवास्ता गर्दै ठेकेदारले नियम विपरित मनोमानी ढंगले क्रसर उद्योग संचालन गरिरहेका थिए । कम्पनीले विवरण लुकाएर उद्योग चलाएको थियो ।
क्रसर उद्योग कम्पनी राजी कन्सट्रक्सन एण्ड सप्लायर्स प्रालिले मनोमानी ढंगले उद्योग चलाईरहेको थियो । भरतपुर महानगरका उपनिर्देशक जगन्नाथ अर्यालले उद्योगले मासिक रुपमा बुझाउनुपर्ने इजाजत बमोजिमको विवरण समेत बुझाएको छैन । तीन दिन भित्र ब्यवसाय दर्ता , नविकरण , इजाजत र आर्थिक वर्ष २०८०÷८१ को खरिद तथा विक्रि र मोज्दात खुल्ने विवरण सहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
भरतपुर महानगरपालिकाको २०८० को भदौ ६ गते बसेको कार्यापालिकाको बैठकले महानगरपालिका भित्र संचालन हुने आयोजनाहरुका लागि आवश्यक नदिजन्य सामाग्री उत्पादन र प्रशोधनका लागि अस्थाई अनुमति दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार ठिमुरामा अस्थायी क्रसर प्लाण्ट सन्चालन गर्न २०८० फागुन ६ गते अनुमति बढीमा ६ महिनाका लागी भनेर अस्थाई इजाजत दिइएको थियो । उक्त इजाजत अनुसार २०८१ साल भदौ ६ गते म्याद सकिएको हो । तर स्थानियको गुनासो आएपछि महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारी , आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल र वडा अध्यक्ष केशव महर्जनको टोलीले स्थलगत अनुगमनमा पुगेका थिए । त्यसको एक साता हुन लाग्दापनि उद्योग रोकिएको थिएन । सोमवार अर्यालले पत्र नै काटेर उद्योग संचालन रोक्न निर्देशन दिएका हुन३ ।
महानगरपालिकाले राष्ट्रिय गौरवका आयोजना र सार्वजनिक विकास निमार्णको आयोजनाका लागि ६ महिनाका लागी अनुमति दिइएको थियो । म्याद समाप्त भएको अवस्थामा अर्को ठाँउमा वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्रै अनुमति दिने ब्यवस्था छ । मनोमानी ढंगले क्रसर उद्योग संचालन भएपछि स्थानियले विरोध गरेका थिए । ‘ सोमवार जाँदा पनि रोकिएको थिएन , ’ वडा अध्यक्ष महर्जनले भने ‘ भदौ ६ गतेसम्मको लागि ईजाजत दिइएकोमा म्याद समाप्त हुँदा पनि अटेर गरेर रोकिएको थिएन । अटेर गरेर संचालन भएको पाइयो । ’
क्रसरका कारण जनस्वास्थ्यमा गम्भिर असर पर्ने गतिविधि अटेर गरेर गरिएकोमा विरोध भएको छ । अवैध क्रसर संचालन तथा ओसार पसारमा रोक लगाउन माग गरेका थिए । ‘ धुलो र बालुवाका कणहरुले स्वास्थ्यमा प्रतिकुल असर परेको छ । ट्रिपरको आवाजले बस्नै नसकिने भएको छ , ’ एक स्थानियले नाम नभन्ने सर्तमा गुनासो गरे , ‘ न भनेको टेर्छन् , न कसैले बन्द गरिदिन्छ । यहाँ दादागिरी नै चलेको छ ।’ पशुपंछी , बोटविरुवा र हरियाली वनमा प्रदुषणले असर गरेको स्थानिय बताउँछन् ।