तनहुँ । बिल पास नगरेको भन्दै तनहुँका एक वडाध्यक्षले सचिव कुटेका छन् । बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्ष बलबहादुर गुरुङले आज वडासचिव नवीन भुसालमाथि निर्घात कुटपिट गरेका हुन् ।
कुटपिटबाट गम्भीर घाइते भएका वडा सचिवको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सचिव भुसालको घाँटीमा गहिरो चोट भएको चिकित्सकले बताएका छन् । वडाध्यक्ष गुरुङ एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । भुसाल गण्डकी प्रदेशबाट सिफारिस भई यही दसैंपछि मात्र बन्दीपुरमा हाजिर भएर वडासचिवको जिम्मेवारी सम्हालेका थिए ।
कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई प्रहरीले नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । पीडित पक्ष तथा बन्दीपुर गाउँपालिकाका कर्मचारीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग सहित आकस्मिक सेवा बाहेक सबै कामकाज ठप्प पारेको गाउँपालिका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।