भरतपुर। दिगो ब्यापारले विकसित अष्ट्रेलियाको अवस्था माथी बहस गर्दै चितवनका उद्योगी व्यवसायीले चासो दिएका छन् । अस्ट्रेलिया नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डिला खरेलले लगानीको वातावरण र त्यसको सुनिश्चितताको वारेमा अनुभव सुनाए । युवा उद्यमी डिला खरेलसँग उद्योग वाणिज्य संघ चितवनले नेपाल – अस्ट्रेलिया सम्बन्ध र प्रत्यक्ष वैदेशिक लगानी विषयमा छलफल कार्यक्रम आयोजना गरेको हो । चितवनका उद्यमी, व्यवसायीको विशेष सहभागितामा बिहीबार खरेलसँग छलफल कार्यक्रम गरिएको हो ।उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको कार्यक्रममा खरेलले साझेदार उद्यम र व्यापारको उपाय वारे अनुभव राखेका थिए । कर, वित्त तथा बैंकिङ सेवामा आवद्ध रहेका खरेलले अष्ट्रेलियाको ब्यापारका निति र सफलताको विषयमा अनुभव सुनाए । उनले व्यापार तथा व्यवसायलाई कृषिबाट सुरु गर्न सकिने बताए । युवा उद्यमी खरेलले सरकारसँग पहल गरेर साना तथा मझौला उद्योगलाई प्रबद्र्धन गर्न सकिने बारेमा धारणा राखे ।
कार्यक्रममा नेपाल र अस्ट्रेलियाको दुई देशीय व्यापार सम्बन्धका आयाम बारे छलफल भएको थियो । गैर आवासीय नेपालीका नागरिकता सम्बन्धि समस्या र यसका सकारात्मक पाटोका बारेमा पनि खरेलले प्रस्तुति दिएका थिए । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (Foreign Direct Investment) को संभावना, अवसर र चुनौतीका बारे पनि खरेलको प्रस्तुति दिए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवनमा मह उत्पादन राम्रो भएकोले चितवनको महलाई बिदेश निर्यात गर्न सकेमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । महिला उद्यमीले उत्पादन गरेका अचारलाई पनि निर्यात गर्न सकिने श्रेष्ठले बताए ।
सन् २००५ मा अस्ट्रेलिया गएका खरेल अस्ट्रेलियामा प्राध्यापन गर्दछन् । अष्ट्रेलियामा लोकप्रिय खरेल घरतपुर ४ का हुन् । परोपकारी, सामाजिक तथा उद्यमशीलताका अनवरत र सार्थक प्रयास तथा अभ्यासहरुको अष्ट्रेलिया र नेपाल दुवै देशमा उत्तिकै चर्चा हुने गर्दछ । उनी अस्ट्रेलियास्थित इनोभेटिभ एसोसिएट्सका प्रिन्सिपल हुन् ।