भरतपुर, १२ जेठ ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा पार्टीले सोचेअनुसारको परिणाम हासिल नगरेको भन्दै मिश्रले राजीनामा दिएका हुन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा नि:स्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु।”
विवेकशीलले भरतपुर महानगरपालिका सहित अधिकांश ठाउँमा उम्मेदवारी दिएको थियो । भरतपुर महानगरपालिकाको प्रमुख पदमा प्रविन काफ्ले तथा उपप्रमुख पदमा पुष्पा सापकोटाले उम्मेद्वारी दिएका थिए । काफ्लेले २९८ तथा सापकोटाले २४४ मत मात्रै प्राप्त गरेका थिए । विवेकशील साझा पार्टीले यस पटक बाराको फेटा गाउँपालिकामा अध्यक्षसहित केही वडामा मात्र जित हात पारेको छ । फेटामा विवेकशीलका रुस्तम अन्सारी अध्यक्ष र नीलम साह उपाध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्ष पदबाट राजीनामा दिँदै मिश्रले पार्टीका संयोजक मिलन पाण्डेलगायतका नेताहरूलाई गरिएको कारवाही फिर्ता लिन पनि मिश्रले केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितलाई आग्रह गरेका छन् । पार्टीलाई अगाडि बढाउने विषयमा केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षा गरी निर्णय लिने पनि उनले अपेक्षा राखेका छन् ।