बैतडी – जिल्लाको दशरथ चन्द नगरपालिकालाई भारतको पिथौरागढ जिल्लासँग जोड्ने नाका झुलाघाट हो। यस ठाउँलाई भारततिर झुलाघाट र नेपालतर्फ जुलाघाट भनिन्छ। झुलाघाट नाकामा देखिने यो झोलुंगे पुल झन्डै डेढ सय वर्ष पुरानो छ। भारतमा शासन गरेका अंग्रेजहरूका पालामा उनीहरूले नै त्यो पुल निर्माण गरेका हुन्। उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्द भन्छन्, ‘अंग्रेजहरूले नेपालको शुद्ध घिउ खान झुलाघाटमा पुल बनाएका हुन्।’ झुलाघाटको झोलुंगे पुल बनेको कति वर्ष भयो ? त्यसको यकिन तथ्यांक भने छैन। महाकालीमा बनेको झन्डै सय मिटर लामो उक्त पुल कम्तीमा पनि डेढ सय वर्षअघि बनेको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे बताउँछन्।
‘सन् १९४७ मा भारत स्वतन्त्र भयो। अंग्रेज शासकहरूले भारत छोडेको झन्डै ७५ वर्ष भयो, त्यसको पनि ७५ वर्षअघि नै त्यो पुल बनेको हो भनिन्छ’ प्रमुख जिल्ला अधिकारी पाण्डे भन्छन्। ‘नेपालको अर्गानिक घिउ, अर्गानिक उत्पादनहरू भारतमा लैजान त्यो झोलुंगे पुलको निर्माण गरिएको हो।’ इस्ट इन्डिया कम्पनीले बनाएको झोलुंगे पुल जीर्ण बन्दै गएपछि बैतडीलगायत सुदूरपश्चिमवासी समस्यामा परेका छन्। यस भेगका पहाडी जिल्लामा आवत्जावत गर्ने झुलाघाट पुरानो प्रवेशद्वार हो। कर्णालीयता यातायातको सुविधा नपुगेका समयमा सुदूर र मध्यपश्चिमका जिल्लाका सर्वसाधारणको राजधानी र भारत पस्ने प्रमुख नाका झुलाघाट नै थियो।
झुलाघाट झोलुंगे पुल आफैंमा जीर्ण छ। भारततर्फ उसको डबल लेनको पक्की सडक छ। नेपालतर्फ पनि जुलाघाटसम्म पक्की सडक बनिसकेको छ। तर, महाकालीमा पक्की पुल नभएकाले अहिले पनि नेपालका सवारीसाधन न भारत जान सकेका छन्, न त भारतका सवारीसाधन नेपाल आउन नै। नेपाल र भारतका जनताबीच पारिवारिक साइनो पनि छ। बैतडी, दार्चुला, कैलाली र कञ्चनपुरका जनताको त अधिकांशका भारतका गाउँमा बिहेबारी चल्छ। अझ नेपाल देवभूमि भएकाले भारतमा बस्नेले नेपालका देवीदेवतालाई कुल देवता मान्ने गर्छन्। उनीहरू नवरात्रमा नेपाल आउँदा भारतमै आफ्नो साधन छोडेर कष्टकर यात्रा गर्न बाध्य छन्।
अन्नपूर्ण पोष्ट् डटकमबाट साभार