भरतपुर : चितवन मेडिकल कलेजले नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरीका परिवारका सदस्यलाई अस्पतालमा २५ प्रतिशत छुट दिने भएको छ । आज नेपाल प्रहरी श्रीमती संघ र चितवन मेडिकल कलेजबीच सेवामा छुट दिने सम्झौता भएको छ। सम्झौता अनसार मा उपचार सेवामा २५ प्रतिशत र फार्मेसीमा सात प्रतिशत छुट हुनेछ । नेपाल प्रहरी र पूर्वप्रहरीसहित उनीहरूका परिवार तथा अमर प्रहरीका परिवारले सङ्घले उपलब्ध गराएको परिचयपत्रका आधारमा सो मेडिकल कलेजमा उपचार गराउँदा यो सुविधा पाउनेछन्। सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचारलगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता हुने उपचारमा भने यो सम्झौता लागू हुने छैन।यसैगरी नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरूलाई पनि यो सम्झौता लागू नहुने अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले बताए। अस्पतालमा बहिरङ्ग (ओपिडी) र आकस्मिक (इमर्जेन्सी) टिकट लिएपछि मात्रै यो सम्झौता लागू हुने देवकोटाले जानकारी दिए।
सम्झौतामा अस्पतालका निर्देशक प्राडा दयाराम लम्साल र संघका अध्यक्ष कुसुमलता सिंहले हस्ताक्षर गरेका छन् । प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी, अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटा सहभागी थिए । सम्झौताले नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारलाई उपचारमा सहज हुने अध्यक्ष सिंहले बताइन् ।
यो सम्झौता आगामी साउन १ गतेदेखि २०८१ असार ३० गतेसम्म लागू हुने र पुनः नवीकरण गर्न सकिने जनाइएको छ। प्रमुख प्रशासक देवकोटाले नेपालको मध्यभागमा रहेर अत्याधुनिक उपकरणसहित अतिविशिष्ट सेवासमेत दिँदै आएको अस्पतालप्रति धेरैको विश्वास बढेको बताए। आगामी दिनमा स्वास्थ्य सेवालाई अझै परिस्कृत र सरलीकृत गर्दै उत्कृष्ट सेवा दिँदै जाने उनले प्रतिबद्धता व्यक्त गरे।