चितवन – नीति तथा कार्यक्रम पारित गर्दै भरतपुर महानगरपालिकाको एघारौ नगरसभा सकिएको छ । शुक्रवार सुरु भएको नगरसभा नीति तथा कार्यक्रम र बजेट पारित् गर्दै सम्पन्न भएको हो । नगरसभामा नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत ५ अर्व ७४ करोड बराबरको बजेट पारित भएको छ । नगरसभाले आर्थिक वर्ष ०७९/ ८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको हो ।
नगर सभाले कार्यपालिकाका बैठकले गरेका निर्णयलाई परिमार्जनसहित अनुमोदन समेत गरेको छ । महानगरप्रमुख रेनु दाहालले महानगरपालिकामा राजनैतिक भेदभाव नहुने बताइन् । प्रतिवद्धता व्यक्त गर्नुभयो । सबैको उद्देश्य महानगरको विकास भएकाले पार्टीगत राजनीतिबाट अलग रहनुपर्ने धारणा राखिन् ।
महानगरबाट राजनैतिक आस्थाको आधारमा भेदभाव नहुने प्रतिवद्धता ब्यक्त गरिन् । सहमति सहकार्य र एकजुट भएर भरतपुरको विकासमा सर्मपित हुन सबैलाई आग्रह गरिन् ।
सभामा महानगरका उपप्रमुख चित्रसेन अधिकारीले रचनात्मक कामबाट भरतपुरको विकासमा केन्द्रीत हुनुपर्ने बताए । महानगरका समस्यालाई जनप्रतिनिधिले समधानको लागि सधै सल्लाह सुझाव ग्रहण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त पनि गर्नुभयो ।
नगर सभा समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदी, वडाध्यक्षहरु केशव महर्जन, लेखराज पन्त, प्रकाश दवाडी, राजेन्द्रमणि काफ्ले, निवर्तमान वडा अध्यक्ष अरुण पीडित भण्डारीले आफ्नो धारणा राखेका थिए ।