भरतपुर, २३ साउन ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका पूर्व अलराउण्डर क्रिकेटर मनोज प्रभाकर नियुक्त भएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपाल क्रिकेट संघ क्यानले त्यसको जानकारी दिएको हो । उनीसँग आगामी एक वर्षसम्मका लागि सम्झौता भएको क्यानले जनाएको छ ।
प्रभाकरले भारतका लागि सन् १९८४ देखि १९९६ सम्म ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । भारतको घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफीमा उनले दिल्ली, राजस्थान र यूपी क्रिकेट संघको प्रशिक्षकको जिम्मा सम्हालिसकेका छन् । ५९ वर्षका उनीसँग अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गरेको अनुभव पनि रहेको छ ।
गत साउन ४ गते क्यानेडियन प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएपछि प्रमुख प्रशिक्षकको पद रिक्त रहेको थियो ।
नवनियुक्त प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेटलाई बलियाे बनाउन आफू उत्सुक रहेको बताएका छन् ।