काठमाडौँ — नेकपा एमालेका केही नेताहरूले मधेस प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा संगठित रुपमा विद्रोह गरेका छन् । स्थायी कमिटीका सदस्य प्रभु साहसहितका जिल्लास्तरका नेताहरूले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि २५ स्थानबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)सँग मधेसमा चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका साहले आफ्नै पार्टीको टिकटलाई समेत अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि प्रभु साहले पनि जसपासँग मिलेर चुनाव लड्ने भएपछि एमाले अपवित्र भएको बताए । उम्मेदवारी दर्तापछि उनले भने‚ ‘एमाले पार्टीले देशमा एकता, समृद्धि गर्ने सम्भावना बोकेको थियो भनेर लागेका थियौं । जसपाजस्तो भ्रष्ट, घोटाला नै घोटाला गर्ने, मधेसी र पहाडीबीच साम्प्रदायिकता फैलाउने शक्तिसँग अनैतिक सम्बन्ध बनाएपछि हामी असन्तुष्ट भएका थियौं । हामीले निरन्तर भनिरहेका थियौं कि यसले मधेस र देशमा पार्टीलाई घाटा हुन्छ,’ उम्मेदवारी दर्तापछि साहले भने, ‘कुर्सीको खेलका लागि देशमा अस्थिरता ल्याउनुहुन्न भन्दा पनि सुनुवाइ भएन । मधेसको अस्थिर, साम्प्रदायिक शक्तिसँग साँठगाँठ गरेको एमालेको टिकटबाट लड्यो भने त त्यसको बचाउ गर्नुपर्छ । महान् पार्टी हो उपेन्द्रजीको भन्नुपर्छ । गठबन्धन बनाइसकेपछि एमाले स्वच्छ रहेन, अपवित्र रह्यो । त्यो अपवित्रतामा सँगै हिँड्न सकिँदैन भनेर स्वतन्त्र उठेको हुँ ।’ जुनयुद्धकै समयदेखि माओवादीमा सक्रिय रहेका साह नेकपा विभाजन भएपछि नेकपा एमालेको रहेका थिए । माओवादीले कारबाही गर्दा डेढ वर्षदेखि उनीहरुको पद रिक्त भएको छ ।
‘साहले पार्टीमा आईटी आर्मी भन्ने समूह चलाउँदै आएका थिए‚ त्यसमा रहेका नेताहरुलाई विभिन्न ठाउँमा उम्मेदवार बनाउनु भएको छ भन्ने जानकारी आएको छ । के कति भन्ने यति नै संख्या हो भनेर निश्चित गरेका छैनौं‚’ एमालेका एक पोलिटब्युरो सदस्यले भने, ‘हामीले पहिलेदेखि नै साहको भूमिका पार्टीमा रहने प्रकारको छैन । जुनसुकै समयमा धोका हुनसक्छ भनेर नेतृत्वलाई बारम्बार भनेका थियौं । अहिले परिणाम त्यस्तै देखियो ।’
पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्राथमिकतामा इन्चार्ज महासेठ र महासचिव शंकर पोखरेलको प्राथमिकतामा साह पर्दै आएका थिए ।
साहले कतिपय व्यक्तिलाई टिकट दिने आश्वासन दिएर एमालेमा भित्र्याएका तर गठबन्धन हुँदा उनीहरूको टिकट काटिने भएपछि असन्तुष्टि रहेका थिए ।